“एक पृथ्वी, एक स्वास्थ्यको लागि योग“ नारासहित ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

सम्वादाता | २०८२ असार ७ गते १०: ५७ मा प्रकाशित

बीरगञ्ज । जुन महिनाको २१औँ तारिख अर्थात् असार ७ गते आज देशभर “एक पृथ्वी, एक स्वास्थ्यको लागि योग“ भन्ने नारासहित ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । 
    संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन शुरु गरेको हो । अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्र संघको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेका थिए। प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइरालाले समर्थन गरेका थिए । यो प्रस्तावलाई हाल विश्वका धेरै देशले समर्थन गरिसकेका छन् ।
    संस्कृत भाषाको योग शब्दको अर्थ जोड्नु भन्ने हुन्छ । ‘योगश्चित्तवृत्तिनिरोधः’ अर्थात् मनमा आउने विभिन्न विकारलाई हटाउने प्रक्रियालाई नै योग भनिन्छ । योग दिवसका अवसरमा विभिन्न संघसंस्थाले आज विविध कार्यक्रम आयोजना गर्ने भएका छन् । यस वर्ष कोरोना भाइरसको संक्रमण फैलिएकाले सार्वजनिक कार्यक्रमभन्दा पनि प्रविधिलाई उपयोग गरी जुम प्रविधिका माध्यमबाट कार्यक्रम गरिने जनाइएको छ ।
    योगको नियमित अभ्यासबाट स्वास्थ्य राम्रो, कार्यक्षमतामा वृद्धि, चिन्तामुक्त, मानसिक शान्ति, रोग प्रतिरोधी क्षमतामा बढोत्तरी, शरीर, मन र आत्माबीचको समन्वय, सकारात्मक सोचको विकास, अनावश्यक विचारबाट मुक्ति, ऊर्जा प्राप्ति, आत्म ज्ञान प्राप्तिलगायत सकारात्मक गुणको विकास हुन्छ ।

प्रतिक्रिया दिनुहोस्