दुलारचन्द यादव हत्या काण्डले तातियो बिहारको राजनीति

मोकामा पूर्व विधायक अनन्त सिंह गिरफ्तार

पटना, भारत — बिहारको मोकामा क्षेत्रका पूर्व विधायक अनन्त सिंहलाई दुलारचन्द यादव हत्या काण्डमा संलग्न रहेको आरोपमा प्रहरीले गिरफ्तार गरेको छ। पटना एसएसपी कार्तिकेय शर्माको नेतृत्वमा खटिएको प्रहरीको विशेष टोलीले सिंहलाई बाढको बेढना गाउँबाट शुक्रबार राति अबेर पक्राउ गरेको हो। गिरफ्तारीपछि उनलाई कडा सुरक्षा व्यवस्थामाझ पटना ल्याइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

बिहार विधानसभा निर्वाचनको पूर्वसन्ध्यामा बिहीबार मोकामा क्षेत्रका जन सुराज पार्टीका ७५ वर्षीय समर्थक दुलारचन्द यादवको हत्या भएको थियो। टाल क्षेत्रमा भएको हिंसात्मक झडपका क्रममा यादवको मृत्यु भएपछि सिंहमाथि मुख्य आरोपीका रूपमा मुद्दा दर्ता गरिएको हो।

एसएसपी शर्माका अनुसार, “प्रारम्भिक अनुसन्धान, प्रत्यक्षदर्शीको बयान र पोस्टमार्टम रिपोर्टका आधारमा अनन्त सिंहको संलग्नता पुष्टि भएपछि उनलाई पक्राउ गरिएको हो।” प्रहरीका अनुसार सिंहसँगै उनका दुई सहयोगी — मणिकान्त ठाकुर र रणजीत राम — लाई पनि नियन्त्रणमा लिइएको छ।

मोकामा सिटलाई बिहारको राजनीतिक दृष्टिले अत्यन्त संवेदनशील मानिन्छ। नोभेम्बर ६ मा हुने मतदानअघि अनन्त सिंहजस्तो चर्चित र विवादास्पद व्यक्तित्वको गिरफ्तारीले राजनीतिक समीकरणमा नयाँ हलचल ल्याएको छ। स्थानीय विश्लेषकहरूका अनुसार, यो घटनाले मोकामाको चुनावी प्रतिस्पर्धामा प्रत्यक्ष असर पार्ने सम्भावना छ।

घटनापछि निर्वाचन आयोगले यसलाई गम्भीर सुरक्षा चुनौतीको रूपमा लिँदै प्रशासनमाथि कडाइ गरेको छ। आयोगले पटना ग्रामीण एसपीसहित केही अधिकारीलाई जिम्मेवारीबाट हटाएको र तीन जनामाथि तत्काल कारबाही गर्न निर्देशन दिएको छ।

यस घटनासँगै मोकामा र आसपासका क्षेत्रमा थप सुरक्षा सतर्कता अपनाइएको छ। प्रशासनले शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षाकर्मीहरूको संख्या बढाएको बताएको छ।

प्रतिक्रिया दिनुहोस्