सुधीरसंग ७ प्रश्न

सम्वादाता | २०८२ जेठ १७ गते ०१: ०१ मा प्रकाशित

    पर्सा जिल्ला, विशेषतः वीरगंज महानगरपालिका, एक समय औद्योगिक र खेलकुद विकासको प्रतीक मानिन्थ्यो । एशियाकै ठूलो चिनी मिल, कृषि औजार कारखाना, नारायणी रंगशालाजस्ता संरचनाहरू आज उपेक्षित अवस्थामा छन् । यिनको पुनर्जीवन सम्भव हुँदाहुँदै राज्यको तर्फबाट निरन्तर बेवास्ता भइरहेको देखिन्छ । त्यसमाथि, पर्साबाट तीनजना मन्त्री सरकारमै रहेका बेला पनि स्थानीय स्तरमा कुनै ठोस पहल नहुनु खेदजनक छ । यसै विषयमा मोफसलमा लोकप्रिय युवा नेता तथा पर्सा निर्वाचन क्षेत्र नं. १ (ख) प्रदेश सभासदस्यका प्रत्याशी सुधीर पटेलसँग खेलकुदका विषयमा सिमित रही यस अनलाईनका सम्पादक प्रकाश तिवारीले कुराकानी गरेका छन् ।
प्रश्न १ः हालै सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२-८३ को बजेटमा नारायणी रंगशालाको नाम समावेश नभएको विषयमा तपाईंको प्रतिक्रिया के छ ?
सुधीर पटेल ः साँच्चै भन्नुपर्दा, यो केवल निराशाजनक मात्र होइन, अपमानजनक पनि हो। पर्सा जिल्ला देशकै प्रमुख जिल्लामध्ये एक हो । यहाँ तीनजना मन्त्री सरकारमा छन्, तर पनि मन्त्रीहरुले आफ्नो क्षेत्रको खेलकुद लगायत अन्य विकासका लागि कुनै पहल नगरेको र जनता भन्दा व्यक्तिगत लाभमै सीमित रहेको देखिएको छ । रंगशालाजस्तो महत्वपूर्ण संरचना बजेटमा समावेश नहुनु स्पष्ट संकेत हो कि स्थानीय मागहरूलाई बेवास्ता गरिएको छ । नारायणी रंगशाला केवल इँटा, ढुंगा र सिमेन्टको संरचना होइन — यो हाम्रो पहिचान, हाम्रो गौरव र हजारौँ युवाहरूको सपना हो ।
प्रश्न २ ः रंगशाला बजेटमा नपर्नुको प्रत्यक्ष असर खेलकुद क्षेत्रमा कस्तो देखिन्छ ?
सुधीर पटेल ः यसको असर धेरै तहमा पर्दछ । पहिलो—स्थानीय खेलाडीहरूको मनोबल कमजोर हुन्छ । दोस्रो—पारिस्थितिक र प्राविधिक रूपमा जीर्ण अवस्थामा रहेको रंगशालालाई पुनर्निर्माण नगर्दा ठूला प्रतियोगिता आयोजना गर्न सक्दैनौं । तेस्रो—कलेज, विद्यालय, क्लबहरू जो यहाँ अभ्यास र प्रतियोगिता गर्दथे, तिनीहरूको कार्यक्रम अवरुद्ध हुन्छ । चौथो—हामीले राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने लक्ष्य राखेका छौं, तर संरचना नहुँदा त्यो सपना अधुरै रहन्छ । नारायणी रंगशाला नेपालको पुरानो र ऐतिहासिक रंगशालाहरूमा पर्दछ । दशको दशकदेखि नै यहाँ राष्ट्रिय स्तरका प्रतियोगिता हुँदै आएका छन् । थुप्रै एथलेटिक्स, क्रिकेट, र अन्य खेलकुद कार्यक्रमले यो रंगशालालाई देशकै प्रतिष्ठित खेलस्थल बनाएको हो । यतिसम्म कि कतिपय वरिष्ठ खेलाडीहरूले यही रंगशालाबाट आफ्नो यात्रा सुरु गरेका छन् । सम्भावना बोकेको भौतिक पूर्वाधार नष्ट प्रायः भईसकेको अवस्थामा खेलकुदमा यसले नाकारात्मक असर पार्ने स्पष्ट छ ।
प्रश्न ३ः बजेट निर्माणको प्रक्रियामा स्थानीय माग समावेश कसरी हुन सक्थ्यो ? अहिलेका नेताहरूको भूमिका तपाईं कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
सुधीर पटेल ःबजेट निर्माण केवल केन्द्रको कुरा होइन, त्यसमा स्थानीय जनप्रतिनिधि र मन्त्रीहरूको सक्रियता अति आवश्यक हुन्छ । दुर्भाग्यवश, यसपटक स्थानीय जनताको आवाज सुन्ने इच्छाशक्ति देखिएन । तीनजना मन्त्री हुनुको अर्थ हो — उनीहरूमार्फत हामीले काठमाडौँसम्म कुरा पुर्याउने विश्वास राखेका थियौं । तर त्यो विश्वास टुक्रिएको छ।  उनीहरूले यो मुद्दालाई प्राथमिकतामा राखेका छैनन् भन्ने स्पष्ट देखिन्छ ।
प्रश्न ४ः तपाईं आफैं खेलकुद प्रेमी र युवाहरूका प्रतिनिधि हुनुहुन्छ । अब के गर्न सकिन्छ ? तपाईंको रणनीति के हो ?
सुधीर पटेल ः हामी यो विषयलाई मिडियामा ल्याइरहेका छौं । साथै, जनस्तरमा हस्ताक्षर अभियान सञ्चालन गर्ने योजना छ । युवाहरूबीच सचेतना फैलाउनेछौं — बजेट कुनै कागजी प्रक्रिया मात्र होइन, यो त हाम्रा सपना पुरा गर्ने साधन हो । यदि आवश्यक परे, काठमाडौँमै गएर मन्त्रीहरूसँग भेट गर्ने, ज्ञापनपत्र बुझाउने, र सार्वजनिक दबाब सिर्जना गर्ने पनि हाम्रो रणनीति हो। यो केवल नारायणी रंगशालाको कुरा होइन — यो देशभरका युवाहरूको अधिकारको कुरा हो ।
प्रश्न ५ ः तपाईंको विचारमा अब पनि सरकारलाई पुनर्विचार गराउने सम्भावना छ ?
सुधीर पटेल ः अवश्य छ । जनदबाब एउटा शक्तिशाली माध्यम हो । बजेट पास हुनुअघि संशोधनको प्रक्रिया हुन्छ । हुनत अहिले बजेट आईसकेको अवस्था छ तथापी हामीले पर्याप्त आवाज उठायौं भने संसदमा हाम्रो मुद्दा उठ्न सक्छ । प्रतिनिधिहरूले ध्यान दिनुपर्छ कि रंगशालाको पुनर्निर्माण केवल ढाँचागत कुरा होइन, यो सामाजिक न्याय र युवालाई सम्मान दिने कुरा हो ।
प्रश्न ६ तपाईं प्रदेश सभासदस्यमा निर्वाचित हुनुभयो भने यी विषयलाई कसरी अघि बढाउनुहुन्छ 
सुधीर पटेलः म केवल गुनासो गर्न चुनाव लडिरहेको छैन, समाधानको योजना लिएर आएको छु । मेरो पहलमा पहिलोपटक “वीरगंज पूर्वाधार पुनर्जीवन कार्यदल“ गठन हुनेछ । हामी प्रदेश र संघीय सरकारसँग बजेटको सुनिश्चितता गराउनेछौं । निजी लगानी र सहकारी मोडेलमार्फत अहिले खेलकुद अगाडी बढीरहेको अवस्था छ । हाम्रो ध्यान उतापनि रहनेछ ।  नारायणी रंगशालालाई ’मल्टिपर्पोज स्पोट्र्स एरिना’ मा रूपान्तरण गर्ने मेरो प्रतिवद्धता हो ।
प्रश्न ७ ः अन्तमा, युवाहरू र सरकारलाई के सन्देश दिन चाहनुहुन्छ?
सुधीर पटेल ः मेरो सम्पूर्ण अभियान आफैंमा युवा–संचालित अभियान हो । म नारा होइन, सहभागिता खोजिरहेको छु । योजना निर्माणदेखि प्रचारप्रसारसम्म, हजारौं युवाहरु मेरो अभियानमा सहभागी छन् । उनीहरुको सुझावले हाम्रो घोषणापत्र समृद्ध बनाउने छ । वीरगंजको पुनर्निर्माणका लागि हामी सबै मिलेर उठ्नुपर्छ  । अब समय आएको छ मौन बस्ने होइन, बोल्ने । हाम्रो भविष्यको सवालमा हामी नै अगाडि बढ्नुपर्छ । खेलकुद केवल फुर्सदको साधन होइन, करिअर हो, राष्ट्र निर्माणको आधार हो । सरकारलाई भन्न चाहन्छु — स्थानीय आवाजको सम्मान गर्नुहोस् । यदि युवाको भविष्यमा लगानी गर्न चाहनुहुन्छ भने, रंगशालाजस्ता पूर्वाधारमा प्राथमिकता दिनुहोस् । अन्यथा, युवाहरू तपाईंको नीति र नेतृत्व दुबैप्रति प्रश्न उठाउन बाध्य हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्