जीतपुर–बडनिहार–मनवा–रङ्गपुर जनता सडक जर्जर, स्थानीय आक्रोशित

वीरगंज । पर्सा जिल्लाको ग्रामीण भेग हुँदै जाने जीतपुर–बडनिहार–मनवा–रङ्गपुर जनता सडक ठाउँ–ठाउँमा भत्किएर जर्जर बनेको छ । करीब एक दशकअघि विश्व बैंकको आर्थिक सहयोगमा निर्माण गरिएको १७ किलोमिटर लामो उक्त सडक अहिले दर्जनौं स्थानमा खाडल परेर जोखिमपूर्ण बनेको स्थानीयले बताएका छन् ।

विश्व बैंकको सहयोगमा पप्पु कन्स्ट्रक्शनले करीब १७ करोड रुपैयाँको लागतमा निर्माण गरेको यो सडक पर्सा जिल्लाको ग्रामीण क्षेत्रलाई जोड्ने महत्वपूर्ण मार्गका रूपमा परिचित छ । तर निर्माण भएको छोटो अवधिमै सडक भत्किन थालेपछि यसको गुणस्तरमाथि समेत प्रश्न उठ्न थालेको छ ।

स्थानीय बासिन्दाका अनुसार सडकको दयनीय अवस्थाले दैनिक आवतजावतमा ठूलो समस्या उत्पन्न गरेको छ । सडकमा बनेका ठूला–ठूला खाडलका कारण सवारीसाधन सञ्चालनमा कठिनाइ हुनुका साथै दुर्घटनाको जोखिम पनि बढेको उनीहरूको गुनासो छ ।

पर्सागढी नगरपालिका–३ का स्थानीय भरत गुरुङले सडक समयमै मर्मत नहुँदा जनजीवन प्रभावित भएको बताए । उनका अनुसार सडक बिग्रँदै जाँदा सवारीसाधन बारम्बार बिग्रिने, यात्रुहरूले सास्ती खेप्नुपर्ने तथा दुर्घटनाको सम्भावना बढ्दै गएको छ ।

स्थानीयहरूले सडक विभाग तथा सम्बन्धित निकायको उदासीनताप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूका अनुसार वर्षौंदेखि सडक मर्मत नहुँदा एम्बुलेन्स, सार्वजनिक यातायात तथा निजी सवारीसाधनसमेत जोखिममा परेका छन् ।

स्थानीयवासीहरूले सडकको तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गरेका छन् । समयमै आवश्यक काम नगरिए दुर्घटना बढ्नुका साथै जनधनको क्षति हुन सक्ने चेतावनी उनीहरूले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्