सीमावर्ती क्षेत्रमा इन्धन तस्करी बढ्दो, पर्साका पेट्रोल पम्पमा बिक्री घट्यो

वीरगञ्ज — नेपालमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भई नयाँ सरकार गठन भएपछि अमेरिका–इरानबीच बढेको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा त्यसको प्रत्यक्ष असर नेपालमा देखिएको छ। पछिल्ला महिनाहरूमा पेट्रोल, डिजेल तथा खाना पकाउने एलपी ग्यासको मूल्य लगातार बढेपछि सीमावर्ती क्षेत्रमा भारतबाट नेपालतर्फ इन्धन तस्करी बढेको पाइएको छ।

निर्वाचनताका पेट्रोल प्रतिलिटर १५४ रुपैयाँमा उपलब्ध रहेको थियो भने डिजेलको मूल्य पनि तुलनात्मक रूपमा कम थियो। त्यसैगरी खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर एक हजार ९१० रुपैयाँमा पाइन्थ्यो। तर हाल पेट्रोलको मूल्य प्रतिलिटर २१४ रुपैयाँ ५० पैसा पुगेको छ भने डिजेल तथा मट्टीतेल प्रतिलिटर २२२ रुपैयाँ ५० पैसा पुगेको छ। एलपी ग्यासको मूल्य पनि बढेर प्रतिसिलिन्डर दुई हजार ११० रुपैयाँ पुगेको छ।

नेपालमा पेट्रोलियम पदार्थको मूल्य लगातार बढिरहेका बेला भारतका पश्चिम बङ्गाल, तमिलनाडु र केरललगायत राज्यमा निर्वाचनका कारण मूल्य नबढाइएको थियो। निर्वाचन सकिएपछि पनि त्यहाँ इन्धनको मूल्य स्थिर रहेकाले नेपाल–भारत सीमावर्ती क्षेत्रमा मूल्य अन्तर अझ बढेको देखिएको छ। अहिले भारतको बिहार राज्यमा पेट्रोल प्रतिलिटर भारु १०७ र डिजेल भारु ९४ मा उपलब्ध रहेको बताइएको छ।

मूल्य अन्तरकै कारण सीमावर्ती भारतीय राज्य बिहार, पश्चिम बङ्गाल र उत्तर प्रदेशबाट नेपालतर्फ पेट्रोलियम पदार्थको अवैध आयात तथा तस्करी बढेको स्थानीय व्यवसायीहरूको भनाइ छ। यसको प्रभाव सीमावर्ती जिल्लाका पेट्रोल पम्पहरूको कारोबारमा प्रत्यक्ष देखिन थालेको छ।

पर्साको कृष्णा आयल स्टोर मा फागुन महिनासम्म दैनिक एक हजार लिटर पेट्रोल र दुई हजार लिटर डिजेल बिक्री हुने गरेकोमा अहिले पेट्रोलको बिक्री घटेर दैनिक पाँच सय लिटर तथा डिजेलको बिक्री करिब छ सय लिटरमा सीमित भएको व्यवसायीहरूले बताएका छन्।

स्थानीय व्यवसायीका अनुसार कृषि प्रयोजनदेखि व्यक्तिगत प्रयोगसम्मका लागि आवश्यक डिजेल र पेट्रोल भारतबाट अनधिकृत रूपमा भित्रिने क्रम बढेकाले नेपाली बजारमा बिक्री घटेको हो। सीमावर्ती क्षेत्रमा नेपालमा मूल्य महँगो हुँदा भारतबाट नेपालतर्फ र नेपालमा सस्तो हुँदा भारततर्फ तस्करी हुने पुरानै प्रवृत्ति रहे पनि पछिल्ला दुई महिनायता नेपालतर्फ इन्धन तस्करी उल्लेख्य रूपमा बढेको देखिएको छ।

प्रतिक्रिया दिनुहोस्