वीरगञ्जमा भारतबाट ल्याइने सामानमा भन्सार कडाइ, १०० रुपैयाँभन्दा माथि कर तिर्नुपर्ने

वीरगञ्ज । भारतबाट नेपाल ल्याइने सामानमा भन्सार नियम कडाइका साथ लागू गरिएको छ। नयाँ व्यवस्था अनुसार सीमावर्ती भारतीय बजारबाट किनमेल गरी ल्याइने १०० रुपैयाँभन्दा बढी मूल्यका वस्तुमा अनिवार्य रूपमा भन्सार घोषणा गरी कर तिर्नुपर्ने भएको छ।

भन्सार विभागले अर्थ मन्त्रालयद्वारा २०८२ जेठ १५ मा प्रकाशित ‘यात्रु सम्बन्धी भन्सार सुविधा’ संशोधनपछि यो नियम लागू गरिएको जनाएको छ। यसअघि सीमावर्ती बजारमा गरिने साना किनमेलमा व्यवहारिक रूपमा भन्सार नलाग्ने अवस्था रहे पनि अबदेखि नियम कडाइका साथ कार्यान्वयन हुने भएको हो।

विभागका अनुसार १०० रुपैयाँसम्मका व्यक्तिगत प्रयोगका वस्तु ल्याउन सकिने भए पनि त्यस्ता वस्तुमा समेत आवश्यक परे भन्सार जाँच हुन सक्नेछ। तर सोभन्दा बढी मूल्यका सामान भने अनिवार्य रूपमा घोषणा गरेर मात्र नेपाल ल्याउन पाइनेछ।

भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काले नयाँ व्यवस्था राजपत्रमा प्रकाशित भएसँगै मातहतका कार्यालयहरूलाई जानकारी दिइएको र कार्यान्वयन सुरु भइसकेको बताए। उनका अनुसार स्थलमार्गबाट भारततर्फका बजारमा किनमेल गर्ने यात्रुहरूले अब नियमअनुसार प्रक्रिया पूरा गर्नुपर्नेछ।

सीमावर्ती क्षेत्रमा रहेका भन्सार कार्यालयहरूले पनि सूचना जारी गर्दै यात्रुहरूलाई नियमबारे जानकारी गराएका छन्। मधेश प्रदेशका विभिन्न नाकाहरूमा सुरक्षाकर्मीले माइकिङमार्फत समेत जनचेतना फैलाइरहेका छन्।

भन्सार कार्यालयका अनुसार विवाह, ब्रतबन्ध, दशैं–तिहारजस्ता अवसरका लागि ठूलो परिमाणमा हुने किनमेल नियन्त्रण गर्न यो कदम चालिएको हो। यसले स्थानीय बजारलाई संरक्षण गर्न र कर प्रणालीलाई व्यवस्थित बनाउन सहयोग पुग्ने विभागको दाबी छ।

विराटनगर भन्सार कार्यालयले पनि स्थलमार्गबाट हुने यात्रु कारोबारमा कडाइ गरेको छ। कार्यालय प्रमुखका अनुसार दैनिक रूपमा माइकिङ गर्दै यात्रुहरूलाई नियमबारे जानकारी दिइँदै आएको छ।

नयाँ नियमसँगै सीमावर्ती भारतीय बजारमा हुने सस्तो किनमेलको प्रवृत्ति घट्ने र नेपाली बजारलाई राहत मिल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्