हरि खेतान क्याम्पसमा तनाव

क्याम्पस प्रमुखमाथि कालोमोसो दल्ने प्रयास, दुई जना पक्राउ

वीरगञ्जहरि खेतान बहुमुखी क्याम्पस मा क्याम्पस प्रमुख किशोरी रायमाथि कालोमोसो दल्ने प्रयास तथा दुव्र्यवहार भएको घटनाले शैक्षिक क्षेत्र तरङ्गित बनेको छ। विरोध प्रदर्शनका क्रममा असन्तुष्ट शिक्षक समूहले क्याम्पस प्रमुखमाथि हातपातसमेत गरेको क्याम्पस प्रशासनले जनाएको छ।

क्याम्पस प्रशासनका अनुसार करार सेवामा कार्यरत चार जना शिक्षकको सेवा समाप्त गर्ने निर्णयपछि विवाद उत्पन्न भएको हो। क्याम्पसले २०८३ वैशाख २१ गतेदेखि लागू हुने गरी लालकिशोरप्रसाद पटेल, रवीन्द्रकुमार यादव, पूजा गुप्ता तथा दिलीपकुमार पण्डितको सेवा अन्त्य गरिएको जनाएको छ।

सेवा समाप्तिको निर्णयपछि सम्बन्धित पक्षले विरोधस्वरूप क्याम्पस परिसरमा ताला लगाएका थिए। क्याम्पस प्रमुख किशोरी रायले पटक–पटक वार्तामार्फत समस्या समाधान गर्न तथा ताला खोल्न आग्रह गरे पनि स्थिति सामान्य हुन नसकेको प्रशासनको भनाइ छ।

विवाद चर्किंदै जाँदा केही व्यक्तिले क्याम्पस प्रमुख रायमाथि कालोमोसो दल्ने प्रयास गर्नुका साथै दुव्र्यवहार र हातपात गरेको क्याम्पस सञ्चालक समितिले जनाएको छ। घटनापछि केही समय क्याम्पस क्षेत्र तनावग्रस्त बनेको थियो। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको थियो। प्रशासनका अनुसार सुरक्षाकर्मीको उपस्थितिपछि अवस्था नियन्त्रणमा आएको थियो।

घटनाप्रति क्याम्पस प्रशासनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। शैक्षिक संस्थाभित्र असहमति राख्ने लोकतान्त्रिक माध्यम हुँदाहुँदै हिंसात्मक तथा अपमानजनक गतिविधि हुनु दुःखद भएको प्रशासनको भनाइ छ। यस्ता घटनाले विद्यार्थीमा नकारात्मक सन्देश जाने तथा समग्र शैक्षिक वातावरण प्रभावित हुने सरोकारवालाहरूले बताएका छन्।

क्याम्पस प्रशासनले घटनामा संलग्न व्यक्तिमाथि आवश्यक कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ। घटनाका आरोपी दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्