नेपाल अपाङ्ग महिला संघद्धारा अन्तरक्रिया कार्यक्रम आयोजना

सम्वादाता | २०८२ सावन ३१ गते ०२: ११ मा प्रकाशित

बीरगंज । नेपाल अपाङ्ग महिला संघको आयोजनामा अपाङ्गता भएका महिला तथा बालिका विरुद्दका हिंसाका सवालमा सरोकारवाला निकायहरु बिच एक अन्तरक्रिया कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ ।
नेपाल अपांग महिला संघको आयोजनामा आयोजित अपाङ्गता भएका बालिका तथा महिलाहरुको न्यायमा पहुच बिषयक अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नुहुदै अध्यक्ष पौडेलले अपाङ्गता भएका महिलाहरुको न्यायमा पहुचको लागि राज्यका सम्बंधित सरोकारवाला निकायहरु बीच सहकार्य समनव्यमा जोड, पालिका स्तरीय सहायता कक्षहरुको विकास, न्याय सम्पादन प्रणालीका संरचना पूर्ण रुपमा अपाङ्गतामैत्री, नेपाल प्रहरी देखि न्याय निरुपण कार्यालयहरुमा सांकेतिक भाषा दोभाषेको व्यवस्थापन, पिडितको गोपनियता भंग नगर्ने, प्रहरीहरुलाई प्रशिक्षण कार्यक्रम लगायतका सवालमा काम गर्नुपर्ने बिषय औल्याउनुभयो ।
त्यस्तै अन्तरक्रिया कार्यक्रमकी अर्की कार्यपत्र प्रस्तुता एवं अधिवक्ता डा.विद्या चापागाईंले अपाङ्गता भएका बालिका र महिलाहरुको न्यायमा पहुचको लागि विभिन्न रुपमा छरिएर रहेका ऐन कानुनहरुलाई एकै ठाउमा ल्याएर छाता कानुनको अभ्यास गर्न सकिए न्यायमा पहुचको अवस्था परिणाममुखी हुने बिश्वाश व्यक्त गर्नुभयो ।
नेपाल प्रहरी, काठमाण्डौँ महानगरपालिका, OCMC लगायत अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा क्रियासिल संघ सस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको उक्त अन्तरक्रिया कार्यक्रममा बोल्नुहुदै नेपाल प्रहरी महिला बालबालिका निर्देशनालयका इन्स्पेक्टर सरस्वती विश्वकर्माले सिमित स्रोत साधनका कारण पिडित महिलाहरु अझ त्यसमा अपाङ्गता भएका महिलाहरुको आवश्यकता पूरा गर्न नसकिरहेको बताउनुभयो ।
कार्यक्रममा आफ्नो धारणा राख्नुहुदै नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका कार्यकारी निर्देशक जगदीश प्रसाद अधिकारीले अपाङ्गता भएका महिलाहरुको न्यायमा पहुँचको लागि यस क्षेत्रमा क्रियाशिल महिलावादी सस्थाहरुलाई संघिय मन्त्रालयबाट बजेट विनियोजन नभएकोमा दुख व्यक्त गर्नुभयो । निर्देशक अधिकारीले काठमाण्डौँ महानगरपालिकाले अपाङ्गताको क्षेत्रमा गरिरहेका प्रयासहरुको खुलेर प्रशंसा गर्नुभयो। 
त्यस्तै कार्यक्रममा काठमाण्डौँ महानगरपालिकाको सामाजिक विकास शाखा प्रमुख समिक्षा निरौलाले अपाङ्गता भएका व्यक्तिहरुको सन्चारको अवरोधमा थप सहयोग पुगोस भनेर सांकेतिक भाषा दोभाषेको संख्या वृद्दि गरिने साथै अपाङ्गताका सवाललाई कल्याणकारी अवधारणाबाट नभइ अधिकारमुखी दृष्टिकोणबाट महानगरपालिकाले हेरिरहेको स्पष्ट पार्नुभयो ।
त्यस्तै काठमाण्डौँ महानगरपालिका सार्वजनिक निर्माण विभागका सहायक निर्देशक (ईन्जिनियर) प्रेम बहादुर श्रेष्ठले महानगरपालिकाको तर्फबाट अपाङ्गतामैत्री संरचना निर्माणमा विशेष जोड दिइ कार्य गरिरहेको र सेवाग्राहीहरुलाई त्यसमा केहि गुनासो भए महानगरपालिकामा आएर खबर गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्