पर्सामा गाँजा तस्करी फस्टिँदै, निकुञ्ज र जङ्गलमार्ग तस्करीको मुख्य ‘रुट’

वीरगंज । मकवानपुरको मनहरि–लोथर र धादिङका विभिन्न पहाडी क्षेत्रमा उत्पादित गाँजा चितवन र पर्सा राष्ट्रिय निकुञ्ज हुँदै पर्साको ठोरी गाउँपालिकाभित्रका विजयबस्ती, सुवर्णपुर, बाघमोर्चा, गोपीबस्ती र गढुवालाइनलगायत क्षेत्रमा भण्डारण गरी भारत पठाउने तस्करी निरन्तर बढ्दै गएको छ। सुरक्षा स्रोतका अनुसार पछिल्ला वर्षहरूमा यी स्थानहरू गाँजा भण्डारण तथा तस्करीका मुख्य केन्द्र बनेका छन्।

निकुञ्ज र जनता सडक हुँदै पटेर्वासुगौलीमार्ग तस्करीको दोस्रो प्रमुख रुट बनेको छ। मनहरि–लोथर हुँदै निकुञ्जबाट पर्साका पटेर्वासुगौली, सोनवर्षा, कञ्चनपुर, बैरिया, रामभौरीभाठा, पलोटाँडी, देकुली, देवरिया, निचुटा, मलाहीटोल, मुजवनिया, जीराभवानी, सखुवनिया, भवानीपुर, महादेवपट्टी तथा सखुवाप्रसौनी गाउँपालिकाका विभिन्न टोलसम्म गाँजा जङ्गल र सडक दुवै मार्ग प्रयोग गरी पुग्ने गरेको देखिन्छ।

भारतको बिहार राज्यमा हालै सम्पन्न विधानसभा चुनावका कारण केही समय रोकिएको तस्करी अहिले पुनः तीव्र भएको स्रोतले जनाएको छ। चुनावअघि मकवानपुर र धादिङबाट ठूलो परिमाणमा ल्याइएको गाँजा गाउँ–गाउँमा भण्डारण गरिएको थियो। अनुकूल समय पर्खेर एकैपटक ठूलो मात्रामा गाँजा भारततर्फ पठाउने तस्करहरूको योजना चुनाव सकिएपछि सक्रिय बनेको हो।

जनता सडक, गण्डक, पदमरोड, वीरगंज–पोखरिया सडकमा मोटरसाइकल, अटो, जीप र भ्यानमार्फत नियमित रूपमा गाँजा ओसारपसार भइरहेको स्थानीयहरूको दाबी छ। विभिन्न क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी चेकजाँच कडा बनाइरहेको बताइए पनि केही प्रहरी इन्चार्जहरू तस्करहरूसँग मिलेमतोमा घुमुवा परिचालन गरेको आरोप स्थानीयहरूले लगाएका छन्। विशेषगरी पटेर्वासुगौलीजस्तो सानो क्षेत्रमा मात्रै चार घुमुवा सक्रिय रहेको दाबी गरिएको छ।

पर्सामा डेढ दशकयता गाँजाखेती लगभग बन्दजस्तै भए पनि मकवानपुर र धादिङमा उत्पादित गाँजा–चरेसको माग तीव्र रूपमा बढेको छ। यी स्थानहरूबाट कम मूल्यमा ल्याइएको गाँजा पर्सामा दोब्बर मूल्यमा बिक्री हुन्छ भने भारत पु¥याएपछि मूल्य चौब्बर पुग्ने स्रोतको दाबी छ।

हाल मकवानपुर र धादिङमा प्रतिकिलो रु ३ हजार पर्ने गाँजा पर्सामा रु ६ हजारमा बिक्री हुने र भारतमा पु¥याएर रु २५ हजारसम्ममा बेचिने गरेको जानकारी स्थानीय स्रोतले दिएका छन्। यही ठूलो मूल्य–अन्तरकै कारण पछिल्ला वर्षहरूमा पर्साका ग्रामीण भूभाग तस्करीको केन्द्र बन्दै गएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार गत आव २०८१÷८२ मा ४६७ किलो गाँजा, ९१ किलो चरेस र ७६६ ग्राम खैरो हेरोइन बरामद भएको थियो। चालू आवको कात्तिक मसान्तसम्मै गाँजा १,५६१ किलो, चरेस ६२५ किलो र खैरो हेरोइन ३८४ ग्राम बरामद गरिएको प्रहरी तथ्यांकबाट देखिन्छ।

गत आवमा १०६ स्वदेशी र ४७ विदेशी गरी १५३ जना पक्राउ परेका थिए। चालू आवको कात्तिक मसान्तसम्म भने स्वदेशी २५ र विदेशी १० गरी ३५ जना पक्राउ परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी हरिबहादुर बस्नेतका अनुसार गाँजा तस्करी नियन्त्रणलाई उच्च प्राथमिकतामा राखिएको छ। सीमावर्ती क्षेत्रमा गस्ती, चेकजाँच र निगरानी कडा बनाइएको भन्दै उनले लागूऔषध कारोबारमा संलग्न जो–कसैलाई पनि कानूनअनुसार कडा कारबाही गरिने बताए।

पर्सामा गाँजा तस्करीका मार्गहरू विस्तारै सुदृढ हुँदै गएपछि स्थानीयले सुरक्षा निकायलाई अझ धेरै सक्रियतापूर्वक निगरानी र नियन्त्रणमा उत्रिन सुझाव दिएका छन्।

प्रतिक्रिया दिनुहोस्