यातायात कार्यालय कलैयामा आर्थिक चलखेलको फैलिँदो जाल, अख्तियारको नजर

जीवन पौडेलमाथि अनियमितताको गम्भीर आरोप

वीरगंज । यातायात कार्यालय बारा, कलैया पछिल्ला दिनहरूमा भ्रष्टाचारको अखडामा परिणत भएको आरोप सार्वजनिक भएका छन्।
देशभर जेनजी आन्दोलनका क्रममा ठप्पजस्तै बनेको यातायात व्यवस्था कार्यालयको कामकारवाही लामो अन्तरालपछि सुचारु भएको थियो।

गत २ गते सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि लिखित तथा प्रयोगात्मक परीक्षा सम्बन्धी सूचना सार्वजनिक भएपछि देशभरबाट करिब १ हजार सेवाग्राही नयाँ तथा थप लाइसेन्सका लागि परीक्षामा सहभागी भएका थिए।

करिब सबै श्रेणीका लागि खुला गरिएको परीक्षामा अपेक्षाभन्दा अत्यधिक भीड बढेपछि नगद कारोबार तथा आर्थिक लेनदेन विषयमा रहेको विवाद चर्किँदै कार्यालयका कर्मचारीबीच कुटाकुटसम्म पुगेको समाचार बाहिर आएको छ। सो विवादसँगै कार्यालयभित्रको आर्थिक चलखेल पनि सतहमा आएको बताइन्छ।

झन्डै एक वर्षदेखि कलैयास्थित कार्यालयमा कार्यरत कर्मचारी जीवन पौडेललाई सवारी चालक अनुमतिपत्र प्रक्रियामा हुने आर्थिक अनियमितताका मुख्य नाइकेका रूपमा आरोपित गरिएको छ। फाँट प्रमुख भएका पौडेलले उच्च पहुँच प्रयोग गर्दै आफूअनुकूल नचल्ने कार्यालय प्रमुखहरूको सरुवा समेत गराउने गरेको दाबी स्रोतहरू बताउँछन्। आफूलाई हरेक पटक लिखित तथा ट्रायल फाँट मा राख्न विभिन्न उपाय अपनाउने गरेकोसमेत आरोप छ।

जेनजी आन्दोलनपछि यातायात कार्यालय, कलैयाबाट ७ पटक चालक अनुमतिपत्रका लागि सूचना प्रकाशित भइसकेको छ। सोही क्रममा व्यापक भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेका छन्। यद्यपि, छानबिनको गति ढिलो भएको भन्दै आरोपितहरूको मनोबल अझै उच्च रहेको स्थानीयहरूको भनाइ छ। तर अख्तियारले भने छिट्टै ठोस कदम चालिने बताएको स्रोतले जनाएको छ।

लिखित परीक्षाका प्रश्नपत्रको ढाँचा लगभग एकनासको हुनु, परीक्षार्थीलाई पहिल्यै जानकारी दिने, प्रतिनिधि खटाएर परीक्षा दिलाउनेजस्ता गतिविधिका कारण करिब ९० प्रतिशत परीक्षार्थी पास हुने गरेको स्रोतको दाबी छ। पास गराइएकै आधारमा आर्थिक लाभ उठाउने प्रक्रियामा पौडेलको अत्यधिक चलखेल रहेको पनि स्रोत बताउँछ।

फाँट प्रमुख भए पनि पौडेल कार्यालय प्रमुखहरूसमेत नटेर्ने व्यवहार देखाउँदा नेतृत्वस्तरमा असन्तुष्टि बढ्दो छ। तर संगठनले यसबारे कुनै औपचारिक टिप्पणी गर्न मानेको छैन।

प्रतिक्रिया दिनुहोस्