हरि खेतान बहुमुखी क्याम्पसमा विवादै विवाद

वीरगंज/ वीरगंजमा एकताका राम्रो कलेजको रूपमा पहिचान बनाएको हरि खेतान बहुमुखी क्यामस अहिले आन्दोलनको थलो बन्दैछ । कलेज व्यवस्थापन समितिको हस्तक्षेपका कारण विद्यार्थी, कर्मचारी तथा प्राध्यापकहरू आआफ्नो ठाउँबाट आन्दोलन गरिरहेका छन् । अहिले दैनिकजसो विद्यार्थीहरूको होहल्लाका कारण सो कलेजको पठनपाठनमा अवरोध सृजना भइरहेको छ । विद्यार्थीहरूको आन्दोलनका कारण पर्साका सुरक्षा निकाय पनि आजित छन् । बिहान हुने बित्तिकै प्रहरीको एउटा टोली कलेजमा पुग्छ । अर्कोतिर विद्यार्थीहरू होहल्ला गर्दै टायर बालेर आन्दोलन शुरू गर्छन् । केही दिनदेखि यो क्याम्पसमा यो दृश्य दैनिक देखिन पाइन्छ ।

समस्याको समाधानका लागि प्राध्यापक सङ्घ तथा हरि खेतान कर्मचारी युनियनले विभिन्न माग राखी संयुक्त ज्ञापन व्यवस्थापन समितिलाई दिएको तर त्यसमा व्यवस्थापन समितिले चासो नदेखाएपछि अहिले विद्यार्थी, कर्मचारी, प्राध्यापक सबैजना आन्दोलित भएका हुन् । हरि खेतान बहुमुखी क्याम्पसमा रहेका कर्मचारी सङ्घ र प्राध्यापक सङ्घको संयुक्त बैठक बसी क्याम्पसमा पछिल्लो समय देखिएको अवस्थाबारे हिजो छलफल भएको थियो । सोही बैठकले हरि खेतान बहुमुखी क्याम्पसमा भएको अवैधानिक नियुक्ति, विधान परिवर्तन तथा निजीकरण प्रयासविरुद्ध कडा कदम चाल्ने सहमति गरेको थियो ।

बैठकले व्यवस्थापन समितिले हरि खेतान बहुमुखी क्याम्पसको प्रशासन प्रमुखमा पुस १७ गते सुस्मिता यादव र हरि खेतान माविमा अञ्जली श्रेष्ठलाई गरेको नियुक्ति पूर्णतः गलत, अवैधानिक भएको निर्णय गरेको छ । क्याम्पसको मूल मर्म, भावना तथा सामुदायिक चरित्रविपरीत प्रेमप्रकाश खेतानको एकल हस्ताक्षरमार्फत विधान परिवर्तन गरी खेतान परिवारद्वारा क्याम्पसलाई निजीकरण गर्ने गम्भीर प्रयास भइरहेको उनीहरूको आरोप छ ।

क्याम्पसमा अध्ययनरत गरीब तथा जेहेनदार विद्यार्थीहरूलाई कुनै किसिमको छात्रवृत्ति नदिई मनपरी ढङ्गले छात्रवृत्ति वितरण गरिंदै आएको विषय गम्भीर आपत्तिजनक तथा भेदभावपूर्ण रहेको बैठकपछि जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । सो कलेजमा कार्यरत शिक्षकहरूले निजी विधान खारेजी, सामुदायिक क्याम्पस अनुसारको विधान अविलम्ब लागू गर्नुपर्ने, सर्वदलीय तथा सर्वपक्षीय बैठक आह्वान गर्नुपर्ने, प्रेमप्रकाश खेतानद्वारा गरिएका अवैधानिक नियुक्ति तत्काल खारेजी, खेतानको एकल हस्ताक्षरमार्फत पारित गरिएको अवैधानिक विधान तत्काल खारेज गरी सामुदायिक विधान लागू गर्नुपर्ने माग राखेको प्राध्यापक सङ्घका धर्मेन्द्र यादवले बताए ।

हरि खेतान बहुमुखी क्याम्पसमा केही दिनदेखि हरि खेतान मावि पनि सञ्चालन भएर दुई चरणमा अध्यापन शुरू भएपछि विवाद शुरू भएको हो । पुरानो पानीटङ्कीनजीक सञ्चालित हरि खेतान मावि हरि खेतान बहुमुखी क्याम्पसबाट सञ्चालन शुरू गरिएपछि विवाद भएको हो । हरि खेतान माविको प्रधानाध्यापकमा अञ्जली श्रेष्ठलाई कायम गरेर प्रशासन प्रमुखको जिम्मेवारी सुष्मिता यादवलाई दिइएको छ ।

यसैगरी, बिहान ६ देखि साढे ११ बजेसम्म मावि तह अन्तर्गत कक्षा ९, १० र ११ सम्मको अध्यापन र त्यसपछि सोमाथिका कक्षाहरूको अध्यापन शुरू गरिएको छ । हरि खेतान मावि थाहै नभएको कर्मचारी तथा प्राध्यापकहरूको भनाइ छ । एकाएक व्यवस्थापन समितिले सो रचना गरेको भन्दै उनीहरू आन्दोलित छन् ।

हरि खेतान बहुमुखी क्याम्पसलाई निजीकरण पनि गरिएको छैन र सामुदायिकीकरण पनि गरिएको छैन । निजीकरण गरिने हो भने सार्वजनिक जग्गामा हरि खेतान बहुमुखी क्याम्पस सञ्चालन हुनु गलत हुन जान्छ । यसैगरी, सामुदायिक हो भने प्रत्येक चार वर्षमा क्याम्पस प्रमुख परिवर्तन गरिनुपर्ने हो । तर यो क्याम्पसमा ४० वर्षसम्म डा भगवानप्रसाद यादव क्याम्पस प्रमुख भएर चलाएको उदाहरण छ । व्यवस्थापकीय संरचना हेर्ने हो भने यो क्याम्पस खेतान परिवारको बाहुल्यतामा छ ।

४० वर्ष क्याम्पस प्रमुख रहेका डा यादवलाई व्यवस्थापन समितिले अवकाश दिएपछि क्याम्पस प्रमुख बनेका किशोरी यादव पनि अहिले निलम्बित अवस्थामा छन् । क्याम्पस प्रमुख यादव र खेतान परिवारबाट व्यवस्थापन समितिमा सुनील खेतानको हस्ताक्षरमा आर्थिक कारोबार हुने गरेकामा आफूमाथि मात्र आर्थिक हिनामिनाको आरोप लगाएर निलम्बन गरिएकोमा पूर्व क्याम्पस प्रमुख यादवको आपत्ति छ ।

उनले छानबीन समिति बनेको तर अहिलेसम्म प्रतिवेदन सार्वजनिक नभएको भन्दै उनले आफूले आर्थिक अनियमितता गरेको भए खेतानले किन हस्ताक्षर गरेको र छानबीन समितिले अनियमितता किन नदेखेको भनेर प्रश्न गरेका छन् । उनले सो क्याम्पसमा पछिल्ला समय परिवारवाद हावी हुँदै गएकोले यसमा स्थानीय सरोकारवालाले ध्यान दिनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्