वीरगंज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ भवानीपुर–इनर्वा निवासी मधेश आन्दोलनका वीर शहिद स्वर्गीय धर्मराज सिंह राजपुतकी आमा कलावती देवी राजपुतिनले नेकपा एमाले पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवलाई विजय तिलक लगाएर जितको आशीर्वाद प्रदान गरेकी छन्।
शुक्रबार बिहान शहिद परिवारसँगको भेटघाट कार्यक्रमअन्तर्गत उम्मेदवार यादव शहिद राजपुतको निवास पुगेका थिए। सो अवसरमा शहिदकी आमा कलावती देवीले उनलाई फूलमाला पहिर्याइ, दोसल्ला ओढाएर मिठाई खुवाउँदै निधारमा टीका लगाई भावुक वातावरणमा विजयको शुभकामना दिएकी थिइन्।
भेटका क्रममा कलावती देवीले उम्मेदवार यादवप्रति गहिरो विश्वास व्यक्त गर्दै भनिन्, “धेरै नेता आए, धेरै गए, तर हाम्रो सुख–दुःख साँचो रूपमा बुझ्ने र साथ दिने नेता प्रदीप यादव मात्र हुनुहुन्छ।”
शुक्रबार बिहानैदेखि वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ भवानीपुर र वडा नम्बर २२ मनियारीमा ‘जनता दर्शन’ कार्यक्रमअन्तर्गत सक्रिय रहेका यादवले शहिदकी आमासँग लामो समय आत्मीय संवाद गरेका थिए। सो क्रममा उनले शहिद धर्मराज सिंहको बलिदानी मार्गलाई कहिल्यै नबिर्सिने प्रतिबद्धता जनाउँदै भने, “म पनि तपाईंको छोरा हुँ, कुनै समस्या आए नडराई सिधै मलाई फोन गर्नुस्।”
उम्मेदवार यादवले आफू सधैं शहिद परिवारको सुख–दुःखमा साथ रहने र भविष्यमा पनि सहयोग निरन्तर गर्ने वाचा गरेका छन्। शहिद परिवारसँगको भेटपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले शहिद आमाबाट प्राप्त विजय तिलकले आफूलाई थप उत्साहित र जिम्मेवार बनाएको बताए।
उनले आफू आश्वासन मात्रै दिने नेता नभई बोलेको कुरा गरेर देखाउने व्यक्ति भएको दाबी गर्दै आगामी दिनमा पनि काममार्फत जनताको विश्वास जित्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस्