नाराभन्दा कामको राजनीति : पर्सा–१ मा प्रदीप यादवको सक्रियता र जनसमर्थन

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक माहोल झन् तातेको छ। दलहरू चुनावी अभियानमा केन्द्रित भइरहेका बेला नेकपा एमालेका उम्मेदवार तथा पूर्वमन्त्री प्रदीप यादवको सक्रियता, जनसम्पर्क र विकासमुखी एजेन्डाले क्षेत्रीय राजनीतिमा विशेष चर्चा पाएको छ।

यसै सन्दर्भमा यादवले आफूले गरेको राजनीति पद, प्रतिष्ठा वा व्यक्तिगत नाफाका लागि नभई जनताको दुःख–सुखसँग प्रत्यक्ष जोडिएको स्पष्ट पारेका छन्। “मेरो राजनीति जनताको पीडामा साथ दिने, समस्या समाधान गर्ने र क्षेत्रको भविष्य सुरक्षित गर्ने अभियान हो,” उनले विभिन्न चुनावी भेटघाट कार्यक्रममा बताएका छन्।

पूर्वमन्त्रीसमेत रहेका यादव पर्सा–१ का मतदाताबीच केवल चुनावी समयमा देखिने नेता नभई नियमित रूपमा गाउँ–टोलमा पुगेर जनताका समस्या सुन्ने, सम्भावित समाधान खोज्ने र सम्बन्धित निकायसम्म आवाज पुर्‍याउने नेताका रूपमा चिनिने स्थानीय बताउँछन्। सडक, खानेपानी, स्वास्थ्य, शिक्षा र रोजगारीजस्ता आधारभूत विषयमा उनले निरन्तर चासो राख्दै आएको जनताको भनाइ छ।

घरदैलो अभियानका क्रममा उनले विकासको बहसलाई नारामा सीमित नराखी व्यवहारमा उतार्ने प्रयास गरेको दाबी गर्दै आएका छन्। शिक्षा क्षेत्रमा विद्यालयको अवस्था सुधार, स्वास्थ्य सेवामा पहुँच विस्तार, कृषिमा सिंचाइ र बजार व्यवस्थापन तथा युवाका लागि रोजगारी सिर्जना उनका प्रमुख प्राथमिक एजेन्डा हुन्।

मधेस प्रदेशमा पानीको चरम अभाव देखिएको बेला तत्कालीन मन्त्रीका रूपमा यादवले खेलेको भूमिका अहिले पनि स्थानीयले सकारात्मक रूपमा स्मरण गर्ने गरेका छन्। संकटग्रस्त बस्तीहरूमा तत्काल ट्यांकरमार्फत खानेपानी वितरणको व्यवस्था मिलाउने, गहिरो ट्युबवेल जडानका लागि बजेट व्यवस्थापन गर्ने, रोकिएका खानेपानी आयोजनालाई तीव्रता दिने तथा स्थानीय तहसँग समन्वय गरेर पानी आपूर्ति प्रणाली सुधार गर्ने काम उनले अघि बढाएका थिए ।

त्यसैगरी दीर्घकालीन समाधानका लागि जलस्रोत व्यवस्थापन योजना, नयाँ खानेपानी परियोजनाको प्रस्ताव र ग्रामीण बस्तीमा सुरक्षित पानी पहुँच विस्तारका पहलहरू पनि उनको कार्यकालका अनुकरणीय कामका रूपमा रहेका छन् ।।

युवा तथा विद्यार्थीको समर्थन यादवको अर्को बलियो पक्ष मानिन्छ। आजको पुस्ता भाषणभन्दा परिणाम खोजिरहेको भन्दै उनले युवालाई स्वरोजगार, सीपमूलक तालिम, कृषि–आधारित उद्यम र साना व्यवसाय प्रवर्द्धनमा जोड्ने योजना अघि सारेका छन्। “समस्या गन्ने धेरै छन्, तर समाधानका लागि जिम्मेवारी लिने कम,” यादव भन्छन्, “मैले त्यसैको अभ्यास गरेको छु।”

यादवले इमानदारी र जवाफदेहितालाई आफ्नो राजनीतिक आधार मान्दै आएका छन्। जनताको कर र अधिकारको सम्मान गर्दै पारदर्शी रूपमा काम गर्ने प्रतिबद्धता उनले दोहोर्‍याएका छन्। “जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो पूँजी हो,” उनको भनाइ छ।

स्थानीय अगुवा तथा बुद्धिजीवीहरू पर्सा–१ लाई अब प्रयोगको थलो बनाउन नहुने धारणा राख्दै अनुभवी, जनतासँग जोडिएको र काम गरेर देखाएको नेतृत्व आवश्यक रहेको बताउँछन्। यही सन्दर्भमा यादवको नाम चुनावी बहसमा अगाडि आएको देखिन्छ।

आगामी निर्वाचनलाई पर्सा–१ को विकास दिशा निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। जनताको दुःख–सुखमै राजनीति गर्ने दाबी गरेका यादवले जनविश्वासलाई मतमा बदल्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्नको उत्तर मतदानको दिन आउनेछ। तर अहिले पर्सा–१ मा यादवप्रति बढ्दो समर्थन, सक्रिय जनसम्पर्क र विकासमुखी एजेन्डाले चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ।

प्रतिक्रिया दिनुहोस्