राजेन्द्र महत्तोको पार्टीका उम्मेदवार नै रास्वपा प्रवेश

जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा चुनावी माहोल तातिँदै जाँदा राजनीतिक समीकरणमा नयाँ मोड आएको छ। राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका तथा पार्टीका उपाध्यक्षसमेतरहेका राजीव कुमार झा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गर्ने भएका छन्।

झाले रास्वपाका उम्मेदवार मनिष झालाई समर्थन गर्ने घोषणा गर्दै आज बिहान साढे ११ बजे रास्वपामा औपचारिक रूपमा प्रवेश गर्ने कार्यक्रम तय भएको जानकारी दिएका छन्। उनले मधेसबाट प्रधानमन्त्री बन्ने सम्भावना देखिएको भन्दै आफूले सक्दो सहयोग गर्ने उद्देश्यले यस्तो निर्णय लिएको बताएका छन्।

राजीव झाको यो निर्णयसँगै धनुषा–३ को चुनावी प्रतिस्पर्धामा नयाँ राजनीतिक समीकरण बन्ने विश्लेषण भइरहेको छ। यसअघि उनी राष्ट्रिय मुक्ति पार्टी नेपालको तर्फबाट उम्मेदवारका रूपमा चुनावी मैदानमा थिए।

धनुषा–३ मा प्रमुख दलहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ। नेपाली कांग्रेसबाट पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि, नेकपा एमालेबाट जुली कुमारी महतो तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट मनिष झा उम्मेदवार रहेका छन्। झाको रास्वपा प्रवेशले विशेषगरी रास्वपा उम्मेदवारको चुनावी अभियानमा थप बल पुग्ने समर्थकहरूको दाबी छ भने अन्य दलहरूले भने यसलाई आफ्नो रणनीतिअनुसार मूल्यांकन गरिरहेका छन्।

चुनाव नजिकिँदै जाँदा दलहरूबीचको प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। आगामी मतदानसम्ममा थप राजनीतिक ध्रुवीकरण र समीकरण परिवर्तन हुन सक्ने आकलन पनि राजनीतिक विश्लेषकहरूले गर्न थालेका छन्।

प्रतिक्रिया दिनुहोस्