एमाले पर्सा–२ मा चुनावी तयारी तीव्र, कुहडीमा अगुवा कार्यकर्ता भेला सम्पन्न

वीरगंज । नेकपा (एमाले) पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वीरगंज महानगरपालिका–२७ कुहडीमा वडा स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ।

भेलालाई सम्बोधन गर्दै एमालेका केन्द्रीय सदस्य तथा वीरगंज महानगरपालिकाका पूर्व मेयर विजय सरावगीले आगामी प्रतिनिधिसभा निर्वाचनमा एमाले पर्सा–२ की उम्मेदवार रिमा कुमारी यादवलाई विजयी गराउन नेता तथा कार्यकर्तालाई एकजुट भई सक्रिय रूपमा लाग्न आग्रह गरे। उनले देशको विकास, राजनीतिक स्थायित्व र समृद्धिका लागि एमालेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै संगठन सुदृढीकरण, घरदैलो अभियान र जनसम्पर्क कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा उम्मेदवार रिमा कुमारी यादवले जनताको सेवामा समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले स्थानीय पूर्वाधार विकास, रोजगारी सिर्जना, महिला सशक्तीकरण तथा युवामैत्री कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्ने बताउँदै आगामी निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन मतदातासँग आग्रह गरिन्।

भेलामा सहभागी अगुवा तथा कार्यकर्ताहरूले उम्मेदवारलाई विजयी गराउन घरदैलो, जनसम्पर्क तथा प्रचार–प्रसार अभियानलाई तीव्र बनाउने प्रतिबद्धता जनाएका थिए। साथै स्थानीय तहमा संगठन विस्तार, मतदाता सचेतना अभिवृद्धि र युवा परिचालनका विषयमा समेत छलफल भएको आयोजकले जानकारी दिएको छ।

वडा कमिटीका अध्यक्ष प्रमोद साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमालेका केन्द्रीय सदस्य प्रभु हाजरा, निर्मला देवकोटा, मधेश प्रदेश उपाध्यक्ष बिचारी यादव, पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठक, बहुदरमाई नगरपालिकाका मेयर सिंगासन साह तेली, सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव, एमाले वीरगंज महानगर कमिटीका कार्यवाहक अध्यक्ष लियाकत अली, लेखा समिति संयोजक अजय साह, नेता मुकेश द्विवेदी, पूर्व वडाध्यक्ष प्रदीप यादव, वडाध्यक्ष संजु छतकुली, विजय कुर्मी लगायत पार्टीका नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्