राधेमाई टोलमा उज्यालो नेपाल पार्टीको घरदैलो कार्यक्रम

उम्मेदवार सिंहलाई भव्य स्वागत

पर्सा । उज्यालो नेपाल पार्टीका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग)ले आज वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ स्थित राधेमाई टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

कार्यक्रमका क्रममा स्थानीयवासी तथा युवाहरूले उम्मेदवार सिंहलाई फूलमाला लगाई भव्य स्वागत तथा सम्मान गरेका थिए। भेटघाटका अवसरमा स्थानीयहरूले विगतमा विभिन्न पार्टी र उम्मेदवारहरूले विकास र रोजगारीका विषयमा आश्वासन मात्र दिने तर व्यवहारमा ठोस काम नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।

स्थानीय युवाहरूले चुनाव नजिकिँदा मात्र प्रयोग गर्ने, रोजगारीको वाचा गर्ने र जितिसकेपछि बेवास्ता गर्ने प्रवृत्तिका नेताहरूलाई यसपटक बहिष्कार गर्ने र सक्षम तथा नयाँ सोच भएका उम्मेदवारलाई साथ दिने प्रतिबद्धता जनाए।

कार्यक्रममा सहभागीहरूले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई काम गर्ने व्यक्तित्वको रूपमा उल्लेख गर्दै उम्मेदवार सिंहप्रति समर्थन व्यक्त गरेका थिए।

उम्मेदवार सिंहले आफू निर्वाचित भएलगत्तै स्थानीय समस्याहरूलाई प्राथमिकताका साथ समाधान गर्ने प्रतिबद्धता जनाए। उनले गाउँ–गाउँमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई पहिलो प्राथमिकतामा राख्ने तथा स्थानीय उद्योग–कलकारखानामा स्थानीय र सक्षम जनशक्तिलाई रोजगारीमा प्राथमिकता दिलाउने वाचा गरे।

साथै, वडा नम्बर २० मा निर्वाचित भई काम गर्दा हासिल गरेको अनुभवलाई संघीय संसदसम्म पुर्‍याई क्षेत्रीय विकासका मुद्दाहरू सशक्त रूपमा उठाउने बताए।

कार्यक्रममा स्थानीयवासीहरूले उम्मेदवार सिंहलाई विजयको अग्रिम शुभकामना व्यक्त गरेका थिए। घरदैलो कार्यक्रममा उत्साहजनक जनसहभागिता देखिएको थियो।

प्रतिक्रिया दिनुहोस्