ईएनटी पाठ्यपुस्तकमा सुधार हुने

वीरगंज l नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजका एमबिबिएस चौथो वर्षका विद्यार्थी सन्नी वैश्यले अन्तर्राष्ट्रिय स्तरमा अध्ययन गरिने इएनटी विषयको चर्चित पाठ्यपुस्तक Diseases of Ear, Nose and Throat & Head and Neck Surgery मा रहेको विषयगत स्पष्टतासम्बन्धी सुझाव दिएका छन् ।
    
स्ट्राइडर अध्याय अध्ययनका क्रममा उनले Retropharyngeal abscess लाई  pharynx  अन्तर्गत स्ट्राइडरको कारणका रूपमा उल्लेख गरिएको विषयमा वैज्ञानिक तथा एनाटोमिक दृष्टिले थप स्पष्टता आवश्यक रहेको औंल्याएका थिए । उनको सुझावलाई पुस्तकका लेखक डा पी.एल. ढिङ्ग्राले औपचारिकरूपमा स्वीकार गर्दै आगामी संस्करण वा पुनर्मुद्रणमा एनाटोमिक स्पष्टता थपिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
    
लेखकबाट प्राप्त धन्यवाद तथा सुधारको प्रतिबद्धतालाई नेशनल मेडिकल कलेजले आफ्ना विद्यार्थीको अनुसन्धानमुखी सोच, आलोचनात्मक विश्लेषण क्षमता र अन्तर्राष्ट्रिय शैक्षिक क्षेत्रमा प्रभाव पार्ने योग्यताको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको जनाएको छ ।
    
कलेजले अनुसन्धानमा आधारित अध्ययन, वैज्ञानिक प्रमाणमा आधारित शिक्षा तथा आलोचनात्मक सोचको विकासलाई निरन्तर प्रोत्साहन गर्दै गुणस्तरीय चिकित्सा शिक्षाप्रति आफ्नो प्रतिबद्धता दोहोराएको छ ।

प्रतिक्रिया दिनुहोस्