असार १५ मा रोपाइँ उत्सव, किसान भने मल–सिंचाइ अभावले चिन्तित

विन्दवासिनी गापा वडा नंं ३ द्वारा वितरण गर्न लागिएको मलका लागि लामवद्ध किसानहरु । तस्वीरः हमार वीरगंज

वीरगञ्ज l देशभर २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव उत्साहपूर्वक मनाइँदा तराई–मधेसका किसान भने मल, बीउ, सिंचाइ र विषादीको अभावका कारण चिन्तित बनेका छन्। सरकारी निकाय र स्थानीय तहले रोपाइँ महोत्सवका नाममा विभिन्न कार्यक्रम आयोजना गरिरहे पनि वास्तविक किसान आधारभूत कृषि सामग्रीको अभावसँग जुधिरहेका छन्।

बारा–पर्साका सरकारी कार्यालय तथा स्थानीय तहले हरेक वर्ष असार १५ का अवसरमा छुट्टै बजेट विनियोजन गरी रोपाइँ कार्यक्रम सञ्चालन गर्दै आएका छन्। जनप्रतिनिधि तथा कर्मचारी खेतमा पुगेर धान रोप्ने, दही–चिउरा खाने र तस्बिर सार्वजनिक गर्ने परम्परा दोहोरिँदै आएको छ। तर किसानहरूले यस्ता कार्यक्रमभन्दा खेतीका वास्तविक समस्या समाधानमा राज्यको ध्यान केन्द्रित हुनुपर्ने बताएका छन्।

किसानका अनुसार सरकारले उपलब्ध गराउने रासायनिक मल आवश्यकताको १० प्रतिशतसमेत पुग्दैन। समयमा मल, गुणस्तरीय बीउ र कीटनाशक औषधि नपाउँदा उत्पादन प्रभावित हुने गरेको उनीहरूको गुनासो छ। गण्डक नहरको नियमित मर्मतसम्भार नहुँदा पर्याप्त सिंचाइ सुविधा उपलब्ध नभएको र वैकल्पिक स्रोतमा निर्भर हुनुपरेको किसानहरूको भनाइ छ।

स्थानीय किसानहरूले आफ्नै क्षेत्रमा रोपाइँ प्रभावित भइरहेका बेला जनप्रतिनिधिको औपचारिक रोपाइँ कार्यक्रमले वास्तविक समस्यालाई ओझेलमा पारेको आरोप लगाएका छन्। “बीउका बेर्ना सुक्ने अवस्थामा पुगेका छन्, किसान पानीको खोजीमा छन्, तर जनप्रतिनिधि फोटो खिचाउन मात्रै खेतमा पुग्छन्,” एक किसानले गुनासो गरे।

किसानहरूले असार १५ लाई केवल औपचारिक उत्सवका रूपमा नभई कृषि क्षेत्रका समस्या समाधान गर्ने अवसरका रूपमा लिन सरकारसँग आग्रह गरेका छन्। नियमित मल आपूर्ति, भरपर्दो सिंचाइ, गुणस्तरीय बीउ तथा कृषि सामग्रीमा सहज पहुँच सुनिश्चित गर्न उनीहरूले माग गरेका छन्।

यसैबीच, २३औँ राष्ट्रिय धान दिवसको अवसरमा राजर्षि जनक विश्वविद्यालयअन्तर्गत पण्डित मङ्गलकुमार उपाध्याय बहुमुखी क्याम्पस, गौर–२ मा अनुसन्धानात्मक धान रोपाइँ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा गङ्गा–१, गङ्गा–२ र सोना सुवर्णा जातका जलवायु सहनशील धानको परीक्षणात्मक रोपाइँ गरिएको क्याम्पस प्रमुख रामाशीष साहले जानकारी दिए। उनका अनुसार यी जातका धान अत्यधिक वर्षा, डुबान तथा खडेरीजस्ता प्रतिकूल मौसममा पनि उत्पादन क्षमता कायम राख्न सक्षम छन्।

कार्यक्रममा उपप्राध्यापक देवेन्द्रप्रसाद यादव, लेखा प्रमुख अमेन्द्र यादव, प्रशासन प्रमुख उज्ज्वल झा, प्रादेशिक अस्पताल गौर व्यवस्थापन समितिका अध्यक्ष अवधेश यादव, सञ्चारकर्मी तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले आधुनिक कृषि प्रविधि, उन्नत बीउ र जलवायुमैत्री खेती प्रणालीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।

यस्तै, राष्ट्रिय धान दिवसको अवसरमा वीरगञ्जस्थित रोयल एकेडेमीले ‘भ्वाइस अफ द फार्मर्स’ शीर्षकमा विद्यार्थी–केन्द्रित कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा विद्यार्थीहरूले स्थानीय किसानसँग प्रत्यक्ष संवाद गर्दै खेतीका चुनौती, जलवायु परिवर्तनको प्रभाव, उत्पादन लागत वृद्धि, मल अभाव, सिंचाइ समस्या तथा किसानमैत्री नीतिका विषयमा जानकारी सङ्कलन गरेका थिए।

विद्यालयका अनुसार कार्यक्रमले विद्यार्थीहरूलाई पाठ्यपुस्तकभन्दा बाहिरको व्यावहारिक ज्ञान दिलाउनुका साथै किसानको योगदानप्रति सम्मान, सामाजिक उत्तरदायित्व र कृषि क्षेत्रप्रतिको सकारात्मक दृष्टिकोण विकास गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

प्रतिक्रिया दिनुहोस्