ट्रामाडोल बरामद प्रकरण : ट्रान्सपोर्ट कम्पनीलाई जोगाउन खोजिएको आरोप, अनुसन्धानमाथि प्रश्न

वीरगञ्ज । पर्सामा ठूलो परिमाणमा लागूऔषध ट्रामाडोल बरामद भएको घटनामा सामान ढुवानी गर्ने ट्रान्सपोर्ट कम्पनीमाथि आवश्यक अनुसन्धान नगरी जोगाउने प्रयास गरिएको आरोप सार्वजनिक भएको छ । घटनापछि प्रहरीले प्रारम्भिक रूपमा ट्रान्सपोर्ट कम्पनीको नाम सार्वजनिक गरे पनि आधिकारिक प्रेस विज्ञप्तिमा भने कुनै कम्पनीको नाम उल्लेख नगरेपछि अनुसन्धानको निष्पक्षतामाथि प्रश्न उठेको हो ।

जानकारीअनुसार गण्डक प्रहरीले असार ८ गते साँझ राजस्व छलीको आशङ्कामा वीरगञ्जस्थित एक ट्रान्सपोर्ट कम्पनीबाट छुटेको बा.प्र.०३–००१ ख ३३४६ नम्बरको ट्रक नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाएको थियो । प्रारम्भमा ट्रान्सपोर्ट कम्पनीका कर्मचारीले ट्रकमा कस्मेटिक सामग्री, ब्याट्री तथा विभिन्न औषधिजन्य सामग्री रहेको जानकारी दिएका थिए । 

तर राजस्व अनुसन्धान कार्यालयले ट्रकको जाँच गर्दा एक लाख २० हजार थान ट्रामाडोल ट्याब्लेट बरामद भएपछि घटनालाई लागूऔषधसम्बन्धी मुद्दाका रूपमा अनुसन्धान अघि बढाइएको थियो ।

घटनापछि पक्राउ परेका ट्रक चालक मकवानपुरको थाहा नगरपालिका–७ निवासी सुशील घलेको बयानका आधारमा तत्कालीन प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले प्रारम्भिक रूपमा सञ्चारकर्मीलाई उक्त ट्रक प्रशान्त क्यारियर मार्फत ढुवानी भइरहेको बताएका थिए । तर त्यसपछि जिल्ला प्रहरी कार्यालय, पर्साले जारी गरेको आधिकारिक प्रेस विज्ञप्तिमा कुनै पनि ट्रान्सपोर्ट कम्पनीको नाम उल्लेख गरिएको छैन ।

यसपछि सामान ढुवानी गर्ने कम्पनीको नाम लुकाएर जोगाउने प्रयास गरिएको आरोप सार्वजनिक भएको छ । प्रहरी स्रोतका अनुसार घटनाको अनुसन्धानमा संलग्न केही प्रहरी अधिकारी हाल अन्यत्र सरुवा भइसकेका छन् । यति ठूलो परिमाणमा लागूऔषध बरामद हुँदा पनि सामान पठाउने र प्राप्त गर्ने व्यक्ति वा संस्थाको पहिचान सार्वजनिक नगरिनुले अनुसन्धानमाथि थप प्रश्न उठाएको छ ।

व्यवसायीहरूका अनुसार ट्रान्सपोर्ट कम्पनीहरूले सामान ढुवानी गर्दा चालकलाई सामानको विवरण, गन्तव्य र प्राप्तकर्तासम्बन्धी आवश्यक कागजात उपलब्ध गराउने प्रचलन छ । बरामद ट्रकबाट प्राप्त भएका कागजातमा उल्लेखित व्यक्ति वा संस्थामाथि प्रभावकारी अनुसन्धान नगरी उनीहरूको पहिचान गोप्य राखिएको आरोप पनि लागिरहेको छ ।

समाचार स्रोतका अनुसार ट्रक नियन्त्रणमा लिइएको राति नै सम्बन्धित व्यवसायी र प्रहरीबीच छलफल भएको दाबी गरिएको छ । त्यसपछि जारी गरिएको प्रेस विज्ञप्तिमा कम्पनी वा व्यक्तिको नाम हटाइएको आरोपसमेत लगाइएको छ । यद्यपि यस दाबीको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

यस विषयमा प्रतिक्रिया माग्दा तत्कालीन प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले अनुसन्धान जारी रहेकाले सामान कसको हो र अन्तिम गन्तव्य कहाँ थियो भन्ने यकिन नभएकाले प्रेस विज्ञप्तिमा कुनै नाम उल्लेख नगरिएको बताएका थिए । हालसम्म भने जिल्ला प्रहरी कार्यालय, पर्साबाट यस विषयमा आधिकारिक धारणा प्राप्त हुन सकेको छैन ।

घटनामा ट्रामाडोलजस्तो ठूलो परिमाणको लागूऔषध बरामद भएको अवस्थामा ढुवानी प्रक्रिया, सामान पठाउने र प्राप्त गर्ने पक्ष तथा ट्रान्सपोर्ट कम्पनीको भूमिकाबारे निष्पक्ष र पारदर्शी अनुसन्धान हुनुपर्ने माग सरोकारवालाहरूले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्