पर्यटकीय ठोरी वर्षौंदेखि भरपर्दो विद्युत्बाट वञ्चित, स्थानीय आक्रोशित

सामान्य हावाहुरीमै घण्टौं लाइन अवरुद्ध, कम भोल्टेज र जीर्ण पूर्वाधारले जनजीवन प्रभावित

वीरगञ्ज । मधेस प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र तथा भारतसँग सीमा जोडिएको पर्साको ठोरी गाउँपालिका वर्षौंदेखि भरपर्दो विद्युत् सेवाबाट वञ्चित रहेको भन्दै स्थानीयवासीले सम्बन्धित निकायप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। सामान्य हावाहुरी वा वर्षा हुँदा पनि घण्टौंसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने, कम भोल्टेज, हाफ लाइन, ट्रान्सफर्मरको अभाव तथा जीर्ण वितरण प्रणालीका कारण स्थानीयको दैनिक जनजीवन प्रभावित भएको उनीहरूको गुनासो छ।

स्थानीयका अनुसार विद्युत् लाइन नजिक रहेका रूख तथा झाडी समयमै व्यवस्थापन नगरिँदा सामान्य हावाहुरीमै तारमा अवरोध सिर्जना हुने र पटकपटक लाइन अवरुद्ध हुने गरेको छ। कतिपय स्थानमा विद्युत्का पोलसमेत ढल्ने गरेका छन्। तर दीर्घकालीन समाधानका लागि प्रभावकारी पहल हुन नसकेको स्थानीयको आरोप छ।

ठोरीका विभिन्न बस्तीमा अझै पनि पर्याप्त क्षमताको विद्युत् सेवा उपलब्ध हुन सकेको छैन। पर्याप्त क्षमताका ट्रान्सफर्मर नहुँदा न्यून भोल्टेज, बारम्बार लाइन ट्रिप हुने तथा हाफ लाइनकै भरमा बस्नुपर्ने अवस्था रहेको स्थानीय कृष्ण बरालले बताए। उनका अनुसार यसले घरायसी जीवनसँगै कृषि, व्यापार, शिक्षा तथा स्वास्थ्य सेवामा प्रत्यक्ष असर पुर्‍याएको छ।

अनियमित भोल्टेजका कारण टेलिभिजन, फ्रिज, कम्प्युटर, पानी तान्ने मोटर, इन्भर्टरलगायतका विद्युतीय उपकरणमा क्षति पुग्ने गरेको स्थानीयको गुनासो छ। विद्युत् अवरुद्ध हुनेबित्तिकै अधिकांश क्षेत्रमा मोबाइल नेटवर्कसमेत प्रभावित हुने भएकाले सञ्चार सेवा, आपत्कालीन सम्पर्क तथा डिजिटल सेवामा निर्भर नागरिक थप समस्यामा पर्ने गरेका छन्।

स्थानीयवासीले ठोरीको विद्युत् समस्या नयाँ नभएको उल्लेख गर्दै पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि नेपाल विद्युत् प्राधिकरण तथा सरोकारवाला निकायले अपेक्षित प्राथमिकता नदिएको आरोप लगाएका छन्। विकासका अन्य पूर्वाधार विस्तार भइरहेका बेला गुणस्तरीय र भरपर्दो विद्युत् सेवा अझै सुनिश्चित हुन नसक्नु दुःखद भएको उनीहरूको भनाइ छ।

स्थानीयले विद्युत् लाइन नजिकका रूख तथा झाडी तत्काल व्यवस्थापन गर्न, आवश्यक स्थानमा इन्सुलेटेड (कालो) तार विस्तार गर्न, जीर्ण पोल तथा तार प्रतिस्थापन गर्न, पर्याप्त क्षमताका ट्रान्सफर्मर जडान गर्न तथा विद्युत् वितरण प्रणालीको स्तरोन्नति गर्न माग गरेका छन्।

पर्यटनको अपार सम्भावना बोकेको ठोरीमा भरपर्दो विद्युत् सेवा नहुँदा स्थानीय अर्थतन्त्र, लगानीको वातावरण र समग्र विकासमा समेत नकारात्मक असर परेको सरोकारवालाहरूको भनाइ छ। सम्बन्धित निकायले समस्या समाधानमा ढिलाइ गरे नागरिकको असन्तुष्टि अझ बढ्ने चेतावनी दिँदै स्थानीयले आश्वासनभन्दा गुणस्तरीय, सुरक्षित र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउन सरकार तथा नेपाल विद्युत् प्राधिकरणसँग माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्