ठोरीमा वर्षा लाग्नेबित्तिकै मोबाइल र इन्टरनेट सेवा ठप्प

स्थानीय आक्रोशित

पर्सा । पर्साको ठोरी गाउँपालिकामा सामान्य वर्षा, हावाहुरी वा विद्युत् अवरुद्ध हुनेबित्तिकै नेपाल टेलिकमको मोबाइल तथा इन्टरनेट सेवा ठप्प हुने समस्या कायमै रहेपछि स्थानीयवासी आक्रोशित बनेका छन्। भरपर्दो सञ्चार सेवाको अभावले दैनिक जनजीवन, व्यवसाय, शिक्षा, बैंकिङ तथा पर्यटन क्षेत्र प्रभावित भएको उनीहरूको गुनासो छ।

ठोरी, ब्रह्मनगर, विजयबस्ती र सुवर्णपुरमा नेपाल टेलिकमका टावर भए पनि पर्याप्त ब्याकअप विद्युत् प्रणाली नहुँदा बिजुली कट्नेबित्तिकै नेटवर्क बन्द हुने गरेको स्थानीयले बताएका छन्। यसले अनलाइन कारोबार, सरकारी सेवा, डिजिटल भुक्तानी र आपत्कालीन सम्पर्कसमेत प्रभावित हुने गरेको छ।

स्थानीय व्यवसायी तथा पर्यटन व्यवसायीहरूले सीमावर्ती तथा पर्यटकीय क्षेत्र ठोरीमा कमजोर सञ्चार सेवाले पर्यटकसमेत समस्यामा पर्ने गरेको बताएका छन्। उनीहरूले नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग टावरमा उच्च क्षमताको ब्याकअप विद्युत् प्रणाली जडान, कमजोर क्षेत्रमा थप उपकरण स्थापना तथा सेवा गुणस्तर सुधार गर्न माग गरेका छन्।

सम्बन्धित निकायले तत्काल समस्या समाधान नगरे चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनीसमेत स्थानीयवासीले दिएका छन्।

प्रतिक्रिया दिनुहोस्