फन्टी खोलामा पुल नहुँदा वर्षेनी अवरुद्ध हुन्छ जनता सडक

जोखिमपूर्ण यात्रा गर्न बाध्य स्थानीय

पर्सा । पर्साको उत्तरी भेगमा जीतपुरदेखि पश्चिम ठोरीसम्म जोड्ने मुख्य मार्गका रूपमा रहेको जनता सडक अन्तर्गत पर्सागढी नगरपालिका–३ स्थित फन्टी खोलामा पुल नहुँदा वर्षायाम लागेसँगै स्थानीय बासिन्दा र यात्रुले हरेक वर्ष सास्ती भोग्न बाध्य भएका छन्।

वर्षा सुरु भएसँगै फन्टी खोलामा पानीको बहाव बढ्ने र बाढी आउने भएकाले जनता सडक पटक–पटक अवरुद्ध हुने गरेको छ। सडक बन्द हुँदा पूर्वदेखि पश्चिम ठोरीसम्म आवतजावत गर्ने सर्वसाधारण, विद्यार्थी, कर्मचारी, व्यापारी तथा अन्य यात्रु प्रत्यक्ष रूपमा प्रभावित हुने गरेका छन्।

स्थानीयका अनुसार खोलामा पानी बढेपछि यात्रुहरू जोखिम मोलेर खोला पार गर्न बाध्य हुन्छन्। कतिपय सवारी चालकले जोखिमपूर्ण रूपमा खोला तर्ने प्रयास गर्दा सवारीसाधनको इन्जिनमा पानी पस्ने, सवारी बिग्रिने र ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था आउने गरेको छ। पैदल यात्रु तथा मोटरसाइकल चालक बग्ने, लड्ने र घाइते हुने घटना पनि वर्षेनी दोहोरिने गरेको स्थानीयको भनाइ छ।

खोला पार गर्न नसकिने अवस्थामा यात्रुहरूले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ। त्यसका लागि एक किलोमिटरभन्दा बढी दूरी घुम्नुपर्ने भएकाले समय, श्रम र यातायात खर्चसमेत बढ्ने गरेको स्थानीयहरूले बताएका छन्। यसले दैनिक जनजीवन मात्र होइन, स्थानीय व्यापार–व्यवसाय र आर्थिक गतिविधिमा समेत प्रतिकूल असर पारिरहेको छ।

स्थानीय बासिन्दाले फन्टी खोलामा स्थायी पुल निर्माणको माग गर्दै पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि हालसम्म स्थानीय, प्रदेश वा सङ्घीय सरकारबाट कुनै ठोस पहल हुन नसकेको गुनासो गरेका छन्।

उनीहरूले हरेक वर्ष दोहोरिने समस्या समाधानका लागि फन्टी खोलामा यथाशीघ्र स्थायी पुल निर्माण प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसँग माग गरेका छन्। स्थानीयका अनुसार पुल निर्माण भए जनता सडक वर्षभरि सञ्चालनमा रहने, आवागमन सुरक्षित हुने र पर्साको उत्तरी भेगको आर्थिक तथा सामाजिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्नेछ।

प्रतिक्रिया दिनुहोस्