नौबुँदे सहमति खारेजको माग गर्दै जनकपुरमा प्रदर्शन

जनकपुरधाम । मिटरब्याजपीडितसँग सरकारले गरेको नौबुँदे सहमति खारेज गर्न माग गर्दै ऋण लगानी गर्ने साहु–महाजनहरू मङ्गलवार जनकपुरमा प्रदर्शनमा उत्रिएका छन्। पीडित लेनदेन सङ्घर्ष समितिको ब्यानरमा एकीकृत भएका उनीहरूले सरकारले ऋणदाता पक्षसँग कुनै छलफल नगरी एकतर्फी रूपमा सम्झौता गरेको भन्दै विरोध जनाएका हुन्।

प्रदर्शनकारीहरूले "गृहमन्त्री राजीनामा देऊ", "नौबुँदे सम्झौता खारेज गर" लगायतका नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालतअगाडि प्रदर्शन गरेका थिए। उनीहरूको भनाइमा सरकारले गरेको सहमतिले कानुनी प्रक्रिया र ऋणदाता पक्षको अधिकारमाथि प्रत्यक्ष असर पारेको छ।

प्रदर्शनमा सहभागी साहु लालदेव साहले गृहमन्त्री सूदन गुरुङको नेतृत्वमा सरकारले कानूनविपरीत मिटरब्याजपीडित भनिएकासँग मात्र सम्झौता गरेको आरोप लगाए। ऋणदाता पक्षलाई पूर्ण रूपमा बेवास्ता गरेर गरिएको सहमतिका कारण आफूहरू नै अन्यायमा परेको उनको भनाइ थियो।

उनले दुवै पक्षसँग छलफल नगरी गरिएको सम्झौताले न्यायिक प्रक्रियामाथि नै प्रश्न उठाएको दाबी गर्दै तत्काल नौबुँदे सहमति खारेज गरी ऋणदाता र ऋणी दुवै पक्षको सहभागितामा समस्या समाधानको प्रक्रिया अघि बढाउन सरकारसँग माग गरे।

साहु–महाजनहरूले कानुनी रूपमा भएको लेनदेनलाई सबैलाई एउटै रूपमा "मिटरब्याज"को संज्ञा दिन नहुने उल्लेख गर्दै वास्तविक अवस्था अध्ययन गरेर मात्र निर्णय गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। सरकारले आफ्ना मागप्रति बेवास्ता गरे थप सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनीसमेत उनीहरूले दिएका छन्।

प्रदर्शनका क्रममा सम्भावित अप्रिय घटना हुन नदिन जनकपुरका प्रमुख सरकारी कार्यालय वरपर सुरक्षा व्यवस्था कडा पारिएको थियो। यद्यपि प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्