वीरगञ्जमा २५ मिटर सडक विस्तार अन्तिम चरणमा, हेटौँडामा अभियान अन्योलमै

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा मुख्य सडकको दायाँ–बायाँ २५/२५ मिटर सडक क्षेत्र खाली गराउने अभियान अन्तिम चरणमा पुगेको छ । हेटौँडामा सुरु भएको अभियानपछि अघि बढाइएको वीरगञ्जको सडक विस्तार तेस्रो चरणसम्म आइपुग्दा अधिकांश संरचना हटाइएको हो ।

वैशाख ६ गतेदेखि सुरु भएको अभियानअन्तर्गत गण्डक चोकदेखि मितेरी पुलसम्मको करिब सात किलोमिटर सडकखण्डमा सडक क्षेत्र खाली गराइएको छ । करिब १ हजार २ सय संरचना हटाउने लक्ष्य राखिएकोमा अब करिब १० वटा संरचना मात्र बाँकी रहेको बताइएको छ । बाँकी संरचनामा नेपाली सेनाको ब्यारेक, प्रहरी कार्यालय, मन्दिर तथा अस्पताललगायतका संरचना छन् । अधिकांश निजी तथा व्यावसायिक संरचना भने हटाइसकिएको छ ।

संरचना हटाउने काम तीव्र गतिमा अघि बढे पनि सडक विस्तारपछि मुख्य सडक क्षेत्रको अवस्था भने अस्तव्यस्त बनेको छ । सडक, फुटपाथ र नाला भत्किएका छन् भने धूलो, खाल्डाखुल्डी र निर्माणजन्य भग्नावशेषका कारण पैदलयात्री तथा सवारी चालकले सास्ती खेपिरहेका छन् । विस्तारपछि तत्काल निर्माण तथा व्यवस्थापनको काम सुरु हुन नसक्दा मुख्य सडक क्षेत्र कुरूप बनेको स्थानीयको गुनासो छ ।

सडक विस्तारका क्रममा विद्युत्, इन्टरनेट तथा टेलिफोनका संरचनासमेत प्रभावित भएका छन् । सेवा प्रदायकका तार तथा पोल व्यवस्थापनमा ढिलाइ हुँदा कतिपय स्थानमा सञ्चार तथा विद्युत् सेवामा समस्या देखिएको छ ।

सडक विभागले सडक विस्तारपछि देखिएको अव्यवस्था छिट्टै समाधान गरी निर्माण तथा स्तरोन्नतिको काम अघि बढाउने जनाएको छ । यसका लागि सरकारले करिब १ अर्ब २ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताइएको छ । सम्बन्धित निकायका अनुसार छिट्टै टेन्डर आह्वान गरी वीरगञ्जको मुख्य सडकमा निर्माण तथा स्तरोन्नतिको काम सुरु गरिनेछ ।

यसैबीच, वीरगञ्जमा २५ मिटर सडक विस्तार अभियान निष्कर्षतर्फ पुग्दा हेटौँडामा भने सोही प्रकृतिको अभियान अन्योलमा परेको छ । सडक डिभिजन कार्यालय हेटौँडाले करिब एक वर्षअघि मुख्य सडकको दायाँ–बायाँ २५/२५ मिटर क्षेत्र खाली गराउने अभियान सुरु गरेको थियो । केही स्थानमा डोजर चलाएर संरचना हटाइए पनि त्यसपछि अभियान प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन ।

एउटै प्रकृतिको सडक विस्तार अभियान वीरगञ्जमा तीव्र गतिमा अघि बढ्दा हेटौँडामा भने रोकिएको अवस्थाले स्थानीयस्तरमा यसको कारण, आगामी योजना र कार्यान्वयनको समयसीमाबारे चासो बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्