राष्ट्रिय वन अतिक्रमण हटाउन रौतहट वन कार्यालयको कडाइ

संरचना आफैं हटाउन निर्देशन

रौतहट । वर्षौंदेखि राष्ट्रिय वनको जग्गा अतिक्रमण गरी घरटहरा निर्माण, खेतीपाती तथा घडेरी कायम गर्दै आएका व्यक्तिमाथि डिभिजन वन कार्यालय रौतहटले कडाइ गर्ने भएको छ । कार्यालयले राष्ट्रिय वन क्षेत्रमा भएका अतिक्रमण तथा अनधिकृत संरचना आफैं हटाई वन क्षेत्र खाली गर्न सम्बन्धित व्यक्ति, परिवार तथा संस्थालाई सार्वजनिक सूचनामार्फत निर्देशन दिएको हो ।

डिभिजन वन कार्यालय रौतहटले तोकिएको समयभित्र अतिक्रमित क्षेत्रबाट संरचना हटाई वन क्षेत्र खाली नगरे कानुनबमोजिम अतिक्रमण हटाउने र आवश्यक कारबाही अघि बढाउने चेतावनी दिएको छ ।

कार्यालयका अनुसार पूर्वमा अल्लाजोर खोला, पश्चिममा धनसर खोला, उत्तरमा चुरे पानी ढलो हुँदै मकवानपुरको सिमाना र दक्षिणमा महेन्द्र राजमार्ग आसपास पर्ने क्षेत्र राष्ट्रिय वनको चार किल्लाभित्र पर्छ । उक्त वन क्षेत्रमा घरटहरा निर्माण गर्ने, खेतीपाती गर्ने, घडेरी कायम गर्ने वा अन्य कुनै प्रयोजनमा प्रयोग गर्ने कार्य कानुनविपरीत रहेको कार्यालयले जनाएको छ ।

सार्वजनिक सूचनामार्फत वन कार्यालयले राष्ट्रिय वन अतिक्रमण गरी बसेकाहरूलाई आफूले निर्माण गरेका संरचना आफैं हटाएर वन क्षेत्र खाली गर्न आग्रह गरेको छ । सूचनाको अवज्ञा गरी अतिक्रमण कायम राखेमा कार्यालयले कानुनअनुसार संरचना हटाउने र दोषीमाथि आवश्यक कारबाही गर्ने जनाएको छ ।

कारबाहीका क्रममा उत्पन्न हुने सम्पूर्ण परिणामको जिम्मेवारी सम्बन्धित व्यक्ति वा संस्था स्वयंले लिनुपर्ने चेतावनीसमेत वन कार्यालयले दिएको छ ।

यसैगरी राष्ट्रिय वन अतिक्रमणबारे जानकारी भएका व्यक्तिहरूलाई प्रमाण तथा विवरणसहित डिभिजन वन कार्यालय रौतहट वा सम्बन्धित सब–डिभिजन वन कार्यालयमा जानकारी गराउन आग्रह गरिएको छ ।

वन कार्यालयको पछिल्लो सूचनासँगै वर्षौंदेखि राष्ट्रिय वन क्षेत्रमा घरटहरा निर्माण गरी बसोवास तथा खेतीपाती गर्दै आएका अतिक्रमणकारीमा त्रास बढेको छ । वन क्षेत्र अतिक्रमण हटाउने विषयमा यसअघि पनि विभिन्न समयमा सूचना तथा अभियान सञ्चालन हुँदै आए पनि स्थलगतरूपमा प्रभावकारी कारबाही हुन नसकेको गुनासो छ ।

यसपटक भने वन कार्यालयले अतिक्रमित क्षेत्र खाली गराउने चेतावनी दिएको छ । कार्यालयको सूचना कागजमै सीमित हुन्छ वा अतिक्रमित राष्ट्रिय वन क्षेत्रमा स्थलगतरूपमा डोजर परिचालन गरी संरचना हटाउने कारबाही अघि बढ्छ भन्ने विषय आगामी दिनमा स्पष्ट हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्