आर्थिक पत्रकारहरूका लागि पूँजी बजारसम्बन्धी अन्तरक्रिया तथा प्रशिक्षण सम्पन्न

सम्वादाता | २०८२ असार १२ गते ०४: ०० मा प्रकाशित
बीरगञ्ज । नेपाल धितोपत्र बोर्डको आयोजनामा तथा नेपाल पत्रकार महासंघ, पर्साको सहकार्यमा मधेश प्रदेशका आर्थिक पत्रकारहरूलाई लक्षित गरी एक दिने अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम बिरगंजस्थित क्लासिक होटेलमा आयोजना गरिएको थियो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले संयुक्त रूपमा ब्यानर पढेर औपचारिक रूपमा शुभारम्भ गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालको अध्यक्षता रहेको थियो भने केन्द्रीय लेखा समितिका संयोजक केसी लामिछाने प्रमुख अतिथिको रूपमा उपस्थित थिए ।
विशिष्ट अतिथिको रूपमा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, नेपाल धितोपत्र बोर्डका प्रतिनिधि मिलन मगर र विनोद महर्जन लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बिरगंजका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागी पत्रकारहरूले पूँजी बजारका संरचना, कार्यप्रणाली, नियमन प्रणाली, लगानी सुरक्षाका उपाय र बजार विश्लेषणका बारेमा गहन जानकारी प्राप्त गरेका थिए ।
धितोपत्र बोर्डका प्रतिनिधिहरूले नेपालको पूँजी बजारको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे प्रस्तुति दि ए। साथै, सञ्चारकर्मीहरूले पूँजी बजारसम्बन्धी समाचार लेखनका क्रममा ध्यान दिनुपर्ने पक्ष, तथ्यको पुष्टि र स्रोतको विश्वसनीयताबारेमा पनि छलफल गरेका थिए ।
कार्यक्रमको अन्त्यमा सहभागी पत्रकारहरूले यस किसिमको प्रशिक्षणले आर्थिक पत्रकारितामा थप गहिराई र व्यावसायिकता प्रदान गर्ने उल्लेख गर्दै आगामी दिनमा थप व्यवहारिक तालिम र क्षेत्रीय कार्यशालाहरूको अपेक्षा व्यक्त गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्