वीरगञ्जमा महिला उद्यमशीलता विकास समितिको पहिलो बैठक सम्पन्न

सम्वादाता | २०८२ सावन २१ गते ०१: ०७ मा प्रकाशित

वीरगञ्ज l वीरगञ्ज उद्योग वाणिज्य सङ्घअन्तर्गत हालै गठन गरिएको महिला उद्यमशीलता विकास समितिको पहिलो बैठक सोमबार वीरगञ्ज उद्योग वाणिज्य सङ्घको सभाहलमा सम्पन्न भएको छ। बैठक समितिकी संयोजक डा. लक्ष्मी थापाको संयोजनमा तथा सङ्घका अध्यक्ष हरिप्रसाद गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

बैठकमा पर्सा र बारा जिल्लामा क्रियाशील महिला उद्यमीहरूलाई पहिचान, प्रोत्साहन र सम्मान गर्ने उद्देश्यसहित निकट भविष्यमा एक बृहत् महिला उद्यमशीलता सम्मेलन तथा सम्मान कार्यक्रमको आयोजना गर्ने निर्णय गरिएको छ। समितिले महिला उद्यमशीलताको प्रवर्द्धन, व्यवसायिक सशक्तिकरण, क्षमता अभिवृद्धि र नेटवर्किङ विस्तारलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको छ।

कार्यक्रममा सङ्घका निवर्तमान अध्यक्ष अनिलकुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष माधव राजपाल, उपाध्यक्ष मनोजकुमार दास, महासचिव शिवजीप्रसाद साह, कोषाध्यक्ष अनोज रुँगटा, सचिव प्रेमचन्द्र गोयल, सह–कोषाध्यक्ष निरज अग्रवाल, सह–सचिव अनुप अग्रवाल तथा महिला उद्यमशीलता विकास समितिका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बैठकले महिला व्यवसायीहरूलाई लक्षित गर्दै तालिम, कार्यशाला, परामर्श सेवा र सहुलियतपूर्ण पहुँच कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै, महिला उद्यमशीलताको सशक्तिकरणमार्फत स्थानीय अर्थतन्त्रमा योगदान पुर्‍याउने स्पष्ट रणनीति तय गरेको छ।

प्रतिक्रिया दिनुहोस्