वर्षाका कारण कर्णाली–लुम्बिनी खेल स्थगित

तस्वीरः साभार

वीरगञ्ज — प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत वीरगञ्जस्थित नारायणी रंगशालामा जारी कर्णाली प्रदेश र लुम्बिनी प्रदेशबीचको खेल वर्षाका कारण बीचमै रोकिएको छ।

लुम्बिनी प्रदेशले टस जितेर कर्णालीलाई ब्याटिङको निम्तो दिएको थियो। वर्षा सुरु हुनुअघि कर्णालीले ७ ओभरमा २० रन बनाएको अवस्थामा खेल स्थगित भएको हो। कर्णालीका ओपनर रवीन्द्र शाही ९ रन र सुनिल धमला ७ रन बनाएर क्रिजमा अविजित थिए। लुम्बिनीका बलर सन्देश थापाले ४ ओभरमा १२ रन खर्चिएका थिए भने राजेन्द्र बमले ३ ओभरमा एक मेडनसहित ८ रन दिएका थिए।

यस संस्करणको प्रतियोगिता मधेश प्रदेशका विभिन्न मैदान र काठमाडौंको मुलपानी क्रिकेट मैदानमा सञ्चालन भइरहेको छ। कुल खेलमध्ये १९ खेल वीरगञ्ज, १७ खेल जनकपुर र १० खेल मुलपानीमा हुने तालिका रहेको नेपाल क्रिकेट संघ (क्यान) मधेश प्रदेशका कोषाध्यक्ष सुवास जयसवालले जानकारी दिएका छन्।

आईसीसी विश्वकप लिग–२ को तयारीका कारण कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा यसपटक कुनै खेल आयोजना गरिएको छैन। त्यहाँका खेलहरू मुलपानीमा सारिएको क्यानले जनाएको छ।

खेल रद्द भएसंगै दुबै टोलीले १–१ अंक बांडफांड गरेका छन् ।

करिब एक महिना सञ्चालन हुने प्रतियोगितामा तीन विभागीय टोली र सात प्रदेश गरी १० टोली सहभागी छन्। प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। साविक विजेता नेपाल पुलिस क्लब रहेको छ।

प्रतिक्रिया दिनुहोस्