पारेडेसलाई निलम्बन गर्नुहुँदैन –गाभी

एजेन्सी । स्पेनका मिडफिल्डर गाभीले विश्वकप फाइनलपछि भएको झडपमा आफ्नो संलग्नताका कारण अर्जेन्टिनाका लिएन्ड्रो पारेडेसलाई निलम्बन गर्नु उचित नहुने बताएका छन् ।स्पेनले अर्जेन्टिनालाई १–० ले हराउँदै विश्वकप जितेपछि मैदानमा भएको झडपमा अर्जेन्टिनाका खेलाडीहरू लिएन्ड्रो पारेडेस, नाहुएल मोलिना, थियागो अल्माडा तथा सहायक प्रशिक्षक रोबर्टो आयाला संलग्न देखिएका थिए ।
    
पारेडेसले स्पेनका डिफेन्डर एरिक गार्सियाको घाँटीतर्फ धक्का दिएको जस्तो देखिएको थियो । त्यसपछि बेन्चमा रहेका गाभीले बीचबचाउ गर्ने प्रयास गरे, तर थियागो अल्माडाले उनलाई भुइँमा लडाइदिएका थिए । त्यसपछि पारेडेसले पनि गाभीको अनुहारमा हात राख्दै उनलाई मैदानमा ढालिदिएका थिए ।
    
फिफाले घटनाको छानबीन गर्न अनुशासन तथा आचारसंहितासम्बन्धी विशेष अभियोजक नियुक्त गरेको छ । घटनामा संलग्न खेलाडी वा प्रशिक्षकमाथि निलम्बनको कारबाही हुन सक्नेछ भने अर्जेन्टिना फूटबल सङ्घलाई जरिवाना पनि हुन सक्छ ।
    
गाभीले एल पार्टिदाजो दे कोपेसँग कुरा गर्दै भने, “मलाई लाग्दैन कि पारेडेसलाई निलम्बन गर्नुपर्छ ।” उनले थपे, “यो बालबालिकाका लागि राम्रो उदाहरण होइन भन्ने कुरा म बुझ्छु । तर फूटबलको एउटा पक्ष यस्तो पनि हुन्छ, जहाँ खेल केही बढी शारीरिक र आक्रामक हुन्छ ।” उनले भने, “सबैभन्दा उचित कुरा भनेको खेलकै क्रममा उनलाई रातो कार्ड देखाएर मैदानबाट बाहिर पठाउनुहुन्थ्यो । अन्ततः यो फूटबल नै हो, र कहिलेकाहीं यस्तै पनि हुन्छ ।”
    
उता, अर्जेन्टिनाका सहायक प्रशिक्षक रोबर्टो आयालाले स्पेनका दानी ओल्मोसँग माफी माग्ने बताएका छन् । झडपका क्रममा उनले ओल्मोको अनुहारमा प्रहार गरेको जस्तो देखिएको थियो, यद्यपि आयालाले त्यसलाई ‘मुक्का होइन, सामान्य धक्का मात्र’ भएको दाबी गरेका छन् । आयालाले क्यापिटल रेडियो भ्यालेन्सियासँग भने, “खेल सकिएपछि मैदानको बीचमा झडप भइरहेको देखें । त्यसलाई थप बढ्न नदिन म त्यहाँ पुगेको थिएँ, किनभने त्यो हाम्रो स्वभाव होइन ।” उनले थपे, “मैले गरेको कामको जिम्मेवारी म लिन्छु । मेरो उद्देश्य उनीहरूलाई छुट्याउने मात्र थियो, अरू केही होइन ।”
    
यस अघि फिफाको कमेन्टेटर सूचना प्रणालीमा गलतीवश रेफ्री स्लाभ्को भिन्चिचले पारेडेसलाई एरिक गार्सियाको घाँटीमा धक्का दिएको आरोपमा रातो कार्ड देखाएको उल्लेख गरिएको थियो । तर केही समयपछि त्यो रातो कार्डको विवरण प्रणालीबाट हटाइयो । त्यसपछि फिफाले पुष्टि गर्दै खेलकै समयमा पारेडेसविरुद्ध कुनै अनुशासनात्मक कारबाही नगरिएको स्पष्ट पारेको छ । यद्यपि अर्जेन्टिनाका मिडफिल्डर एन्जो फर्नान्डेज भने फाइनल खेलमा दोस्रो हाफको इन्जुरी समयमा दोस्रो पहेंलो कार्ड पाएपछि रातो कार्डसहित मैदानबाट बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्