विश्वकप फाइनलमा नाइकी अनुपस्थित, एडिडासलाई ठूलो ब्रान्डिङ अवसर

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा यसपटक विश्वप्रसिद्ध खेल सामग्री निर्माता कम्पनी नाइकीको ‘स्वुस’ लोगो देखिने छैन। बुधवार अर्जेन्टिनाले इङ्ल्यान्डलाई सेमिफाइनलमा पराजित गर्दै फाइनलमा स्थान बनाएसँगै नाइकीद्वारा प्रायोजित सबै राष्ट्रिय टोली प्रतियोगिताबाट बाहिरिएका हुन्। अब उपाधिका लागि भिड्ने अर्जेन्टिना र स्पेन दुवैले एडिडासको जर्सी प्रयोग गर्ने भएकाले फाइनलमा एडिडासको मात्र उपस्थिति रहने भएको छ।

यस विश्वकपमा एडिडासले १४ राष्ट्रिय टोलीलाई प्रायोजन गरेको थियो भने नाइकीले १२ टोलीलाई समर्थन गरेको थियो। तर नाइकीका प्रमुख टोली मानिएका इङ्ल्यान्ड र फ्रान्स सेमिफाइनलमै रोकिएपछि कम्पनी फाइनलको सबैभन्दा ठूलो ब्रान्डिङ अवसरबाट वञ्चित भएको छ।

विश्लेषकहरूका अनुसार विश्वकपजस्तो विश्वव्यापी प्रतियोगिताको फाइनल कुनै पनि खेल सामग्री कम्पनीका लागि ब्रान्ड प्रचारको सबैभन्दा प्रभावकारी मञ्च मानिन्छ। यसपटक भने त्यसको प्रत्यक्ष लाभ एडिडासले पाउने भएको छ।

नाइकी पछिल्ला केही वर्षदेखि घट्दो बजार हिस्सा र बिक्री वृद्धिको चुनौतीसँग जुधिरहेको छ। कम्पनीले गत महिना प्रमुख कार्यकारी अधिकृत इलियट हिलको सुधार योजना अपेक्षाअनुसार अघि बढ्न नसकेको जनाएको थियो। विशेषगरी चीनमा कमजोर व्यापार र सतर्क व्यावसायिक अनुमानका कारण यस वर्ष नाइकीको शेयर मूल्य करिब एक तिहाइले घटेको छ।

मर्निङस्टारका विश्लेषक डेभिड स्वाट्र्जका अनुसार नाइकीका लागि विश्वकपको नतिजाभन्दा पनि नयाँ प्रविधियुक्त फुटवेयर विकास, भण्डारण व्यवस्थापन तथा चीनमा बिक्री र नाफा सुधार गर्नु ठूलो चुनौती हो। उनका अनुसार एडिडासले फाइनलमार्फत अतिरिक्त प्रचार पाए पनि खेलकूद उद्योगमा यस्तो प्रतिस्पर्धा स्वाभाविक मानिन्छ।

नाइकीका प्रवक्ताले भने कम्पनीको दीर्घकालीन फुटबल रणनीति कुनै एक प्रतियोगिता वा खेलमा निर्भर नरहेको बताएका छन्। उनले आफ्ना खेलाडी र साझेदार टोलीहरू सकेसम्म अघि बढून् भन्ने चाहना रहे पनि कम्पनीको दीर्घकालीन लक्ष्य फराकिलो रहेको उल्लेख गरे।

यता एडिडासले विश्वकप फाइनललाई कम्पनीका लागि गौरवको क्षणको रूपमा व्याख्या गरेको छ। यद्यपि फाइनलबाट हुने सम्भावित बिक्री वृद्धि सम्बन्धी अनुमान भने सार्वजनिक गरेको छैन।

विश्वकपअघि नाइकीले नयाँ मर्कुरियल फुटबल बुट सार्वजनिक गर्दै ‘रिप द स्क्रिप्ट’ प्रचार अभियान सञ्चालन गरेको थियो। किलियन एम्बाप्पे र अमेरिकी सञ्चारकर्मी किम कार्दासियन सहभागी उक्त अभियान प्रतियोगिताको पहिलो सातामै १.५ अर्ब पटक हेरिएको कम्पनीको दाबी छ। साथै राष्ट्रिय टोलीका जर्सीको बिक्री सन् २०२२ को कतार विश्वकपको सोही अवधिको तुलनामा २.५ गुणाले बढेको पनि नाइकीले जनाएको छ।

तर खेलकूद बजार अनुसन्धान संस्था एम साइन्सका अनुसार विश्व फुटवेयर बजारमा एडिडासको प्रभाव निरन्तर बढिरहेको छ। संस्थाका अनुसन्धान विश्लेषक ड्रेक म्याकफार्लेनले अमेरिका र युरोपमा बलियो व्यापारिक वृद्धिका कारण एडिडासले दोस्रो त्रैमासिकमा नाइकीबाट उल्लेखनीय बजार हिस्सा खोस्न सफल भएको बताए।

एम साइन्सको तथ्याङ्कअनुसार जुन महिनासम्म विश्व फुटवेयर बजारमा एडिडासको हिस्सा बढेर १९.२ प्रतिशत पुगेको छ, जुन एक वर्षअघि १६ प्रतिशत थियो। त्यसै अवधिमा नाइकीको बजार हिस्सा भने लगातार घट्दो क्रममा रहेको उल्लेख गरिएको छ।

यसअघि अप्रिलमा एडिडासले विश्वकपसँग सम्बन्धित उत्पादनबाट पहिलो त्रैमासिकमै करिब २९ करोड २० लाख अमेरिकी डलर बराबरको बुकिङ भएको र दोस्रो त्रैमासिकमा पनि त्यत्तिकै कारोबार हुने अपेक्षा गरेको जनाएको थियो।

प्रतिक्रिया दिनुहोस्