नारायणी रंगशाला उपेक्षित, लोकतान्त्रिक खेलकुद संघ पर्साको ध्यानाकर्षण

सम्वादाता | २०८२ जेठ १८ गते ०४: २७ मा प्रकाशित

वीरगञ्ज । नेपाल लोकतान्त्रिक खेलकुद संघले खेलकुदको सम्मान, पूर्वाधारको संरक्षण र अधिकारको सुनिश्चितताका लागि सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा खेलप्रेमीहरू अब एकजुट भएर “बृहत् आन्दोलन“ गर्नुपर्ने समय आएको बताएको छ । 
    संघका पर्सा अध्यक्ष श्याम पटेलले एक विज्ञप्ती जारी गर्दै वि.सं. २०३८ मा स्थापना भएको र नेपालको दोस्रो ठूलो रंगशालाको रूपमा चिनिने नारायणी रंगशाला अहिले जीर्णोद्धारको पर्खाइमा दशकौँ बितिसकेको जनाउंदै करिब १५ हजार देखि १८ हजार दर्शक क्षमता भएको यो रंगशाला काठमाडौंको दशरथ रंगशालापछिको महत्वपूर्ण खेलकुद पूर्वाधार हो । तर, यसको अवस्था दयनीय बन्दै गएको बताएका छन् ।
    विज्ञप्तीमा “वि.सं. २०७७ मा रु. ७ करोड बजेट विनियोजन गरिए पनि त्यसपछिका वर्षहरूमा यसको निर्माण कार्य पूर्ण रूपमा रोकिएको छ । विशेषगरी, आगामी आर्थिक वर्ष २०८२-८३ का लागि सार्वजनिक गरिएको संघीय बजेटमा वीरगन्जको नारायणी रंगशालालाई फेरि पनि उपेक्षा गरिएको छ ।” भनिएको छ ।
    यसको विपरित, काठमाडौंका मुलपानी, कीर्तिपुर, मोरङ, कैलाली, रुपन्देही, झापा र सुर्खेत लगायतका स्थानका रंगशालाका लागि उल्लेखनीय रकम छुट्याइएको छ । तर, दशरथ रंगशालापछिको दोस्रो ठूलो वीरगन्जको नारायणी रंगशाला भने लगातार बेवास्तामा परेको छ। २०४२ सालमा निर्माण भएको यो रंगशालालाई तीनै तहका सरकारले प्राथमिकतामा राखेका छैनन्, जसका कारण यसको मैदान र प्यारापिट कामै नलाग्ने अवस्थामा पुगेका छन्, विज्ञप्तीमा उल्लेख छ । “पर्साबाट ३ जना संघीय मन्त्री हुँदाहुँदै पनि नारायणी रंगशालाको यो उपेक्षा गर्नु निन्दनीय छ ।”  यस्तो ऐतिहासिक संरचनालाई बेवास्ता गर्नु भनेको युवाहरूको सम्भावना र क्षेत्रीय गौरवमाथिको ठूलो अन्याय हो । यसले स्थानीय स्तरमा खेलकुद विकासको सम्भावनालाई खुम्च्याएको भन्दै विज्ञप्ती मार्फत अध्यक्ष पटेलले यसको भत्र्सना गरेकाछन् । ।

प्रतिक्रिया दिनुहोस्