बार्सिलोना पुनः लयमा फर्कियो

एजेन्सी / एल क्लासिकोमा हार भोगेपछि बार्सिलोनाले लिगामा एल्चेमाथि जीत निकाल्दै पुनः लयमा फर्किएको छ, जसमा मार्कस राशफोर्डले पनि गोल गरे । ह्यान्सी फ्लिकको टोलीका लागि लामिन यामाल र फेर्नान टोरेसले अग्रता बनाइदिएका थिए, तर पाहुना टोलीका लागि रफा मिरले एक गोल फर्काए ।

६१औं मिनेटमा राशफोर्डले गरेको गोलले बार्सिलोनालाई जीत सुनिश्चित गरिदियो र बार्सा फेरि तालिकामा दोस्रो स्थानमा उक्लियो, शीर्षमा रहेको रियल मड्रिडभन्दा पाँच अङ्क पछाडि । एल्चेले पहिलो गोल गरेको थियो, तर लाइनस्म्यानको अफसाइड झन्डाले तुरुन्तै त्यो गोल रद्द गरियो ।

त्यसपछि खेल पूर्णरूपमा बार्सिलोनाको नियन्त्रणमा रह्यो । नवौं मिनेटमा अलेजान्ड्रो बाल्डेको पासमा यामालले बल लिए र बायाँ खुट्टामा कट गर्दै दूर कुनामा उत्कृष्ट प्रहार गर्दै पहिलो गोल गरे । दुई मिनेटमैं घरेलु टोलीले दोस्रो गोल गर्यो । फेर्मिन लोपेजले एड्रिया पेद्रोसाको एउटा गलतीबाट फाइदा उठाउँदै क्रस गरे र टोरेसले खाली पोस्टमा सजिलै ट्र्याप गरेर गोल गरे । हाफटाइमभन्दा तीन मिनेट अघि एल्चेले अन्तर घटायो । मिरले अफसाइड ट्र्याप तोड्दै बक्सको किनाराबाट तल कुनामा चिप्लो शट राखे ।

दोस्रो हाफको शुरूमा राशफोर्डले गोल गरेका थिए तर बिल्डअपमा फेर्मिन अफसाइड भएकाले त्यो पनि रद्द गरियो । तर इङ्ल्यान्डका स्ट्राइकरलाई धेरै बेर रोक्न सकिएन । चाँडै नै उनले फेर्मिनको पास पाए र नजीकैबाट इन्की पेयना पार गर्दै शक्तिशाली प्रहारमा गोल गरे । दोस्रो हाफमा मिरले दुईपटक पोस्टमा हिर्काए, तर उनले चमत्कारी पुनरागमन गराउन सकेनन् ।

यो जीतसँगै लिगामा एल्चेविरुद्ध घरेलु मैदानमा बार्सिलोनाको अपराजित यात्रा २५ खेलसम्म पुगेको छ, जसमा १८ वटा खेल उनीहरूले जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्